14
इस्राएलका धर्म-गुरुहरूमध्ये कोही मकहाँ आए र मेरो सामुन्ने बसे ।2 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,3 "ए मानिसको छोरो, यी मानिसहरूले आफ्ना मूर्तिहरूलाई आफ्ना हृदयमा राखेका छन्, र आफ्नो अधर्मका ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारका सामु राखेका छन् । के तिनीहरूले मेरो बारेमा सोध्न पाउँछन् र ?4 यसकारण तिनीहरूलाई यो कुरा घोषणा गर् र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्नो हृदयमा मूर्तिहरू राख्छन्, र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामुन्ने राख्छन्, र पनि अगमवक्ताकहाँ जान्छन्, म परमप्रभुले त्यसका मूर्तिहरूका सङ्ख्याअनुसार त्यसलाई जवाफ दिनेछु ।5 आफ्ना मूर्तिहरूको कारण आफ्ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौँ भनेर म यसो गर्नेछु ।'6 यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः पश्चात्ताप गर र आफ्ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्दा कुराबाट आफ्ना मुख फर्काओ ।7 किनकि इस्राएलका घरानाको हरेक व्यक्ति र इस्राएलमा बस्ने हरेक विदेशी व्यक्ति जसले मलाई त्याग्छ, जसले आफ्ना मूर्तिहरू आफ्ना हृदयमा राख्छ र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राख्छ, र त्यसपछि मलाई खोज्न कुनै अगमवक्ताकहाँ जान्छ, त्यसलाई म परमप्रभु आफैले जवाफ दिनेछु ।8 यसरी म आफ्नो मुख त्यस मानिसको विरुद्धमा लगाउनेछु, र त्यसलाई एउटा सङ्केत र उखानको पात्र बनाउनेछु, किनकि त्यसलाई म आफ्ना मानिसहरूका बीचबाट बहिष्कार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।9 कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्तो सन्देश भन्छ भने, म परमप्रभुले त्यस अगमवक्तालाई छलमा पार्नेछु । म आफ्ना हात त्यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिसहरू इस्राएलको बीचबाट त्यसलाई नाश गर्नेछु ।10 तिनीहरूका आफ्ना अपराध तिनीहरूले बोक्नेछन् । अगमवक्ताको अपराधचाहिँ उससँग सल्लाह लिनेको अपराध जस्तै हुनेछ ।11 यसकारण, इस्राएलका घरानाले मलाई पछ्याउनदेखि फेरि कहिल्यै बरालिनेछैनन् न त आफ्ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्यै आफैलाई अपवित्र पार्नेछन् । तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु । यो परमप्रभु परमेश्वरको घोषणा हो' ।"12 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,13 "ए मानिसको छोरो, कुनै देशले पाप गरेर मेरो विरुद्धमा पाप गर्छ, जसले गर्दा म त्यसको विरुद्धमा आफ्नो हात पसार्छु र त्यसको खाद्य भण्डार म नाश गर्छु, र अनिकाल ल्याउँछु र मानिस र पशु दुवैलाई नाश गर्छु भने,14 तब नोआ, दानिएल र अय्यूब, यी तीन जना मानिसहरू त्यहाँ भए भने पनि तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्थे, यो परमप्रभु परमेश्वरको घोषणा हो ।15 मैले त्यस देशमा जङ्गली जनावरहरू पठाएँ, र तिनीहरूले त्यसलाई बाँझो तुल्याए र त्यो देश उजाड भयो, जहाँ जनावरहरूका कारणले कुनै मानिस गएन भने,16 तब यी तीन जना मानिसहरू त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर घोषणा गर्नुहुन्छ, तिनीहरूले आफ्नै छोराछोरीहरूलाई पनि बचाउन सक्ने थिएनन् । तिनीहरूका आफ्नो जीवन मात्र बाँच्ने थियो, तर देशचाहिँ उजाड हुने थियो ।17 अथवा मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ र यसो भनेँ, 'ए तरवार, देशभरि जा र त्यहाँबाट मानिसहरू र जनावरहरू दुवैलाई काट् ।'18 तब यी तीन जना मानिसहरू त्यो दैशको बीचमा भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्ने थिएनन् । तिनीहरूका आफ्नो जीवन मात्र बाँच्ने थियो ।19 अथवा मैले यो देशको विरुद्धमा रूढी पठाएँ र रगत बगाएर त्यसका मानिसहरू र पशुहरूलाई मारेर मैले आफ्नो क्रोध पोखाएँ भने,20 तब नोआ, दानिएल र अय्यूब त्यो देशमा भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्ने थिएनन् । तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्ने थिए ।21 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यरूशलेमको विरुद्धमा मेरा चार वटा दण्डहरू - तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी पठाएर, त्यहाँका मानिसहरू र पशुहरू दुवैलाई देशबाट नाश गरेर म धैरै खराब बनाउनेछु ।22 तापनि हेर्, त्यसमा कोही बाँकी हुनेछन्, र बचेकाहरू आफ्ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्केर जानेछन् । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्याएका ती दण्ड र देशको विरुद्धमा मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्त्वना हुनेछ ।23 बाँचेकाहरूका चाल र कामहरू देखेर तिमीहरूले सान्त्वना पाउनेछौ, यसरी मैले त्यसको विरुद्धमा गरेका यी सबै कुरा, र ती मैले व्यर्थमा गरिनँ भनी तिमीहरूले जान्नेछौ । यो परमप्रभु परमेश्वरको घोषणा हो ।"