13
फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्नै कल्पनाहरूका अगमवाणी बोल्नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्कार ।4 ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्थानहरूमा बस्‍ने स्यालहरू जस्ता भएका छन् ।5 परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्केका ठाउँहरू मर्मत गर्न पनि तिमीहरू गएका छैनौ ।6 मानिसहरूसँग झूटा दर्शनहरू छन् र तिनीहरू झूटा भविष्यवाणी गर्छन् । तिनीहरू यसो भन्‍छन्, "परमप्रभुको घोषणा यस्तो-यस्तो छ ।" परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्ना सन्‍देश पूरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।7 के तिमीहरूले झूटा दर्शनहरू देखेका र झूटा भविष्यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले "परमप्रभु यस्तो-यस्तो भन्‍नुहुन्‍छ", भन्‍दछौ, जबकि म आफैले ती भनेकै होइन ?8 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका छौ र झूटा बोलेको छौ । त्‍यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्‍वरको घोषणा यस्तो छः9 मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्छन् र झूटा जोखनाहरू भन्‍छन् । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानु हुँदैन । किनकि परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।10 यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, "शान्‍ति", जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चून लगाउनेछन् ।'11 ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्‍टि हुनेछ र यसलाई ढाल्नलाई ठूला असिना र यसलाई नष्‍ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।12 हेर, त्‍यो पर्खाल ढल्नेछ । के अरूहरूले तिमीहरूलाई यसो भनेका छैनन् र, "तिमीहरूले पोतेको चून कहाँ छ ?"13 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्नो क्रोधमा एउटा डरलाग्दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्‍यसलाई पूर्ण रूपमा भत्काउनेछ ।14 किनकि तिमीहरूले चून पोतेको त्‍यो पर्खाललाई भत्काउनेछु र त्‍यसलाई म भुइँसम्मै लडाउनेछु, र त्‍यसको जग देखाउनेछु । यसरी त्‍यो ढल्नेछ र तिमीहरू सबै पनि त्‍यसको माझमा नष्‍ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।15 किनकि म आफ्नो क्रोधमा त्‍यो पर्खाल र त्‍यसलाई चुनले पोत्‍नेहरूलाई नष्‍ट पार्नेछु । म तिमीहरूलाई भन्‍नेछु, "त्‍यो पर्खाल अब छैन न त त्‍यसलाई चूनले पोत्‍ने मानिसहरू नै छन् -16 यरूशलेमको बारेमा अगमवाणी बोल्ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्‍यहाँ शान्‍ति नै छैन ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो" ।'17 यसैले अब ए मानिसको छोरो, तेरा मानिसहरूका छोरीहरू, जसले आफ्नै कल्पनाको अगमवाणी बोल्नेहरूतिर तेरो मुख फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी बोल् ।18 यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः धिक्कार ती स्‍त्रीहरू, जसले आफ्ना हातका हरेक भागमा जादूका बुटीहरू बाँध्छन् र मानिसहरूको शिकार गर्न विभिन्‍न आकारका शिर ढाक्‍ने घुम्टा बनाउँछन् । के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिँ बचाउने छौ र ?19 मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्‍न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झूटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्ति मेरो मानिसहरूका बीचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ ।20 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिमीहरूका जादूका विरुद्धमा छु, जुन चरालाई झैँ मानिसहरूलाई पासोमा पार्न तिमीहरूले प्रयोग गरेका छौ । साँच्‍चै ती म तिमीहरूका पाखुराहरूदेखि ती चुडाउँनेछु । अनि तिमीहरूले चरालाई झैँ पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु ।21 म तिमीहरूका घुम्टा पनि च्‍यातिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु, यसरी तिनीहरू फेरि कहिल्यै तिमीहरूका हातमा पर्नेछैनन् । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।22 किनकि तिमीहरूले झूट बोलेर धर्मीहरूलाई निराश तुल्याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्‍छा गरिनँ, र तिमीहरूले दुष्‍ट व्यक्तिका कामहरूलाई उत्साह दियौ जसले गर्दा आफ्नो प्राण बचाउन आफ्ना चालबाट ऊ फर्कनेछैन -23 यसैकारण तिमीहरूले अब फेरि कहिल्यै झुटा दर्शन देख्‍नेछैनौ नत भविष्यवाणी गरिरहनेछौ, किनकि म आफ्ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ' !"