36
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो, अनि उहाँले भन्‍नुभयो,2 "आफ्नो निम्ति एउटा मुट्ठा लिएर आइज र इस्राएल, यहूदा र हरेक जातिको विषयमा मैले तँलाई भनेका सबै वचन त्‍यसमा लेख् । योशियाहको समयदेखि आजको दिनसम्म मैले तँलाई बताएको सबै कुरा लेख् ।3 शायद मैले यहूदाका मानिसहरूमाथि ल्याउन चाहेका सबै विपत्तिबारे तिनीहरूले सुन्‍नेछन् । शायद हरेक व्यक्ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ, यसरी मैले तिनीहरूको अधर्म र तिनीहरूको पाप क्षमा दिन सकूँ ।"4 तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र परमप्रभुले यर्मियासँग बोल्नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे ।5 त्‍यसपछि यर्मियाले बारूकलाई एउटा आज्ञा दिए । तिनले भने, "म थुनामा छु, र परमप्रभुको मन्‍दिरमा जान सक्दिनँ ।6 त्‍यसैले तिमी जानुपर्छ र मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ । उपवासको दिनमा परमप्रभुको मन्‍दिरमा मानिसहरू सुन्‍ने गरी र यहूदाका सहरहरूबाट आएका सबैले सुन्‍ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ । यी वचन तिनीहरूका लागि घोषणा गर ।7 शायद कृपाको लागि तिनीहरूको बिन्‍ती परमप्रभुको सामु आउनेछ । परमप्रभुले यस जातिको विरुद्धमा घोषणा गर्नुभएको रीस र क्रोध गम्भीर भएको हुनाले शायद हरेक व्यक्ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ ।"8 त्‍यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्‍दिरमा परमप्रभुका वचन चर्को स्‍वरमा पढे ।9 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौँ वर्षको नवौँ महिनामा यरूशलेमका सबै मानिस र यहूदाका सहरहरूबाट यरूशलेम आएका सबै मानिसहरूले परमप्रभुको सामु उपवासको घोषणा गरे ।10 माथिल्लो चोकमा, परमप्रभुको मन्‍दिरको नयाँ मूल ढोकाको छेउमा भएको सचिव शापानका छोरा गमर्याहको कोठाबाट बारूकले परमप्रभुको मन्‍दिरमा यर्मियाका वचनहरू चर्को स्‍वरमा पढे । सबै मानिसहरूले सुन्‍ने गरी तिनले यसो गरे ।11 गमर्याहका छोरा, शापानका नाति मीकायाले मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने ।12 तिनी राजमहलमा भएको सचिवको कोठामा गए । हेर, त्‍यहाँ सबै अधिकारी अर्थात् सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्‍याहका छोरा सिदकियाह र अन्‍य सबै अधिकारीहरू बसिरहेका थिए ।13 तब सबै मानिसहरूले सुन्‍ने गरी बारूकले चर्को स्‍वरमा पढेका सबै वचन जुन मीकायाले सुनेका थिए, तिनले तिनीहरूलाई ती बताइदिए ।14 त्‍यसैले सबै अधिकारीहरूले नतन्‍याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ पठाए । यहूदीले बारूकलाई भने, "सबै मानिसहरूले सुन्‍ने गरी तिमीले पढेको मुट्ठो आफ्नो हातमा लेऊ र आऊ ।" त्‍यसैले नेरियाहका छोरा बारूकले आफ्नो हातमा मुट्ठा लिए र अधिकारीहरूकहाँ गए ।15 तब तिनीहरूले तिनलाई भने, "बस र यो हामीले सुन्‍ने गरी पढ ।" त्‍यसैले बारूकले मुट्ठो पढे ।16 जब तिनीहरूले यी सबै वचन सुने, तब डरले हरेक मानिसले एक-अर्कालाई हेर्न लागे, बारूकलाई भने, "निश्‍चय नै हामीले यी सबै वचन राजालाई बताउनैपर्छ ।"17 तब तिनीहरूले बारूकलाई सोधे, "हामीलाई बताऊ, तिमीले यर्मियाको आवाज सुनेर यी सबै वचन कसरी लेख्यौ ?"18 बारूकले तिनीहरूलाई भने, "तिनले यी सबै वचन मलाई बोले र मैले तिनलाई यस मुट्ठोमा मसीले लेखेँ ।"19 तब अधिकारीहरूले बारूकलाई भने, "जाऊ तिमी र यर्मिया पनि गएर लुक । तिमीहरू कहाँ छौ भनेर कसैले पनि थाहा नपाओस् ।"20 त्‍यसैले तिनीहरूले त्‍यस मुट्ठोलाई सचिव एलीशामाको कोठामा राखिदिए, र तिनीहरू चोकमा राजाकहाँ गए, अनि राजाले सुन्‍ने गरी हरेक कुरा तिनीहरूले बताए ।21 तब राजाले यहूदीलाई त्‍यो मुट्ठो लिन पठाए । यहूदीले सचिव एलीशामाको कोठाबाट त्‍यो मुट्ठो लिए । तब तिनले राजा र तिनको छेउमा उभिरहेका सबै अधिकारीले सुन्‍ने गरी त्‍यो पढे ।22 नवौँ महिनमा राजा हिउँदमा बस्‍ने महलमा बसिरहेका थिए, र तिनको सामु मकलमा आगो बलिरहेको थियो ।23 जब यहूदीले तीन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्कूले ती काटे र जम्मै मुट्ठो नष्‍ट नभएसम्म त्‍यसलाई बलिरहेको मकलमा फाले ।24 तर यी वचन सुन्‍ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्‍याते ।25 एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्‍ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।26 तब राजाले एक जना आफन्‍त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।27 तब मुट्ठो र त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,28 "फर्केर जा, आफ्नो निम्ति अर्को मुट्ठा ली, अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्‍यसमा लेख् ।29 तब यहूदाका राजालाई तैँले यसो भन्‍नुपर्छ, 'तैँले त्‍यो मुट्ठोलाई यसो भनेर जलाइस्, "बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् र यस देशलाई नष्‍ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्‍ट पार्नेछन्” भनेर तैँले यसमा किन लेखेको छस् ?’ "30 त्‍यसकारण यहूदाका राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः "तेरो कुनै पनि सन्‍तान कहिल्यै पनि दाऊदको सिंहासनमा बस्‍नेछैन । तेरो विषयमा चाहिँ, तेरो लाश दिउँसोको घाममा र रातीको शीतमा लडिरहनेछ ।31 किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्ड म तेरा सन्‍तानहरू र तेरा सेवकहरूलाई दिनेछु । तँ, यरूशलेमका सबै बासिन्‍दाहरू र यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति म ल्याउनेछु, तर तैँले त्‍यसमा ध्‍यानै दिइनस् ।"32 त्‍यसैले यर्मियाले अर्को मुट्ठो लिए र त्‍यो नेरियाहका छोरा सचिव बारूकलाई दिए । यहूदाका राजा यहोयाकीमद्वारा जलाइएको मुट्ठोमा यर्मियाको आवाज सुनेर बारूकले लेखेका सबै वचन त्‍यसमा लेखे । यसबाहेक, अन्‍य धेरै उस्तै वचनहरू पनि त्‍यस मुट्ठोमा थपिए ।