20
यर्मियाले परमप्रभुको मन्‍दिरको सामु यी वचनहरू अगमवाणी गरिरहेका छन् भनेर इम्‍मेरका छोरा पूजाहारी पशहूर, एकजना मुख्य अधिकारीले सुने ।2 त्‍यसैले पशहूरले यर्मिया अगमवक्तालाई कुटे र त्‍यसपछि तिनलाई परमप्रभुको मन्‍दिरस्थित बेन्‍यामीनको माथिल्लो ढोकामा भएको ठिँगुरोमा हाले ।3 अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट निकालेर ल्याए । तब यर्मियाले तिनलाई भने, "परमप्रभुले तिम्रो नाउँ पशहूर नभई मागोर-मिस्‍साबीब राख्‍नुभएको छ ।4 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्तु बनाउनेछु, किनकि तिनीहरू आफ्ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्‍नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्‍यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ ।5 म त्‍यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्‍नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्‍याउनेछन् ।6 तर तँ पशहूर र तेरो घरानाका सबै बासिन्‍दा कैदमा लगिनेछन् । तँ बेबिलोनमा जानेछस् र त्‍यहीँ मर्नेछस् । तँ र तेरा सबै प्रियहरू जसको निम्ति तैँले छली कुराहरूको अगमवाणी बोलेको छस्, त्‍यहीँ गाडिनेछन्' ।"7 "हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र मलाई धोका दिइयो । म भन्‍दा तपाईं नै शक्तिशाली हुनुहुन्‍छ, र तपाईं ममाथि विजयी हुनुभयो । म दिनभरि नै हाँसोको वस्तु बनेँ । हरेकले मेरो गिल्ला गर्छ ।8 किनकि मैले जहिले बोले पनि मैले यसो भनेको र घोषणा गरेको छु, 'हिंसा र विनाश ।' तब परमप्रभुको वचन मेरो लागि हरेक दिन निन्‍दा र ठट्टाको कारण भएको छ ।9 यसो भन्‍छु भने, 'म परमप्रभुको बारेमा फेरि विचार गर्दिन, म फेरि उहाँको नाउँमा बोल्दिनँ ।' तब त्‍यो मेरा हड्‌डीहरू भित्र थुनिराखेको, मेरो हृदयमा आगो जस्‍तो हुन्‍छ । त्‍यसैले म यसलाई भित्रै थुनिराख्‍न सङ्‌घर्ष गर्छु, तर म सक्दिनँ ।10 चारैतिर भएका धेरै जना मानिसहरूबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर ! हामीले यसबारे खबर गर्नुपर्छ !' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । शायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्‍यसो भयो भने, हामीले त्‍यसलाई पराजित गर्न सक्छौँ र त्‍यसमाथि हाम्रो बदला लिन सक्छौँ ।'11 तर शक्तिशाली योद्धाझैँ परमप्रभु मसित हुनुहुन्‍छ । त्‍यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् । तिनीहरूले मलाई पराजित गर्नेछैनन् । तिनीहरू अत्‍यन्‍तै लज्‍जित हुनेछन्, किनकि तिनीहरू सफल हुनेछैनन् । तिनीहरूको लाजको अन्‍त्‍य हुनेछैन, त्‍यो कहिल्यै बिर्सिइनेछैन ।12 तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्‍छ, अनि मन र हृदय देख्‍नुहुन्‍छ । मैले आफ्नो मामिला तपाईंमा सुम्पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।13 परमप्रभुको निम्ति गाओ ! परमप्रभुको प्रशंसा गर ! किनकि उहाँले दुष्‍ट काम गर्नेहरूको हातबाट थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुभएको छ ।14 त्‍यो दिन श्रापित होस् जति बेला म जन्‍मेको थिएँ । मेरी आमाले मलाई जन्‍म दिएकी दिन आशिषित् नहोस् ।15 मेरा बुबालाई यो खबर दिने मानिस श्रापित होस्, जसले यसो भनेर बडो आनन्‍द दियो, 'तपाईंको छोरो जन्‍मिएको छ ।'16 त्‍यो मानिस परमप्रभुले नष्‍ट गर्नुभएका सहरहरू जस्‍तो होस् जसलाई उहाँले दया देखाउनुभएन । त्‍यसले बिहानै मदतको गुहार र मध्‍यदिनमा युद्धको रोदन सुन्‍न परोस् ।17 किनकि त्‍यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन । त्‍यो गर्भ सधैँ गर्भवती नै रहने थियो ।18 सङ्‌कष्‍ट र वेदना हेर्न, यसरी मेरा दिनहरू लाजमा बिताउन म किन गर्भबाट बाहिर निस्केर आएँ ?”