149
परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ । 2 इस्राएल तिनीहरूलाई बचाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्ना राजामा आनन्‍दित होऊन् । 3 तिनीहरूले नाच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैँजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन्। 4 किनकि परमप्रभु आफ्ना मानिसहरूसँग प्रसन्‍न हुनुहुन्‍छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्‍छ । 5 विजयमा धर्मीहरू आनन्‍दित होऊन् । तिनीहरूले आ-आफ्ना ओछ्यानमा आनन्‍दका गीत गाऊन् । 6 तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्, 7 जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न । 8 तिनीहरूले आफ्ना राजाहरूलाई साङ्लाहरूले र आफ्ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् । 9 लेखिएका न्‍यायको फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्‍वासयोग्य जनहरूका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।