143
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्ती सुन्नुहोस् । तपाईंको विश्वस्तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् । 2 तपाईंको सेवकलाई इन्साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्टिमा कोही पनि धर्मी छैन । 3 शत्रुले मेरो ज्यान लिनलाई खेदेको छ । त्यसले मलाई जमिनमा कुल्चेको छ । त्यसले मलाई उहिले नै मरेकाहरूझैँ अँध्यारोमा बस्न लगाएको छ । 4 मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ । 5 पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरूमा म ध्यान गर्छु । तपाईंका उपलब्धीहरूमा म चिन्तन गर्छु । 6 म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । सुक्खा जमिनमा मेरो प्राणले तपाईंको तृष्णा गर्छ । सेला 7 हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्च्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरू जस्तै म हुनेछु । 8 बिहानमा मलाई तपाईंको करारको विश्वस्तता सुन्न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिँड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्नो प्राण तपाईंतिर उचाल्छु । 9 हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्नलाई म तपाईंकहाँ भागेर आउँछु । 10 तपाईंको इच्छा पूरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्याओस् । 11 हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्टबाट बाहिर निकाल्नुहोस् । 12 तपाईंको करारको विश्वस्ततामा मेरा शत्रुहरूलाई नष्ट पार्नुहोस् र मेरो जीवनका सबै शत्रुहरूलाई नाश गर्नुहोस्, किनकि म तपाईंको सेवक हुँ ।