142
आफ्नो स्‍वर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु । आफ्नो स्‍वर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्‍ती गर्छु । 2 उहाँको सामु म आफ्नो विलाप खन्‍याउँछु । उहाँलाई म आफ्ना कष्‍टहरू भन्‍छु । 3 मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्‍नुहुन्‍छ । म हिँड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् । 4 म आफ्नो दायाँतिर हेर्छु र त्‍यहाँ एक जना पनि देख्दिनँ जसले मेरो वास्ता गर्छ । म बाँच्‍ने ठाउँ कहीँ छैन । मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन । 5 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरेँ । मैले भनेँ, "तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्‍छ । 6 मेरो पुकारा सुन्‍नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू म भन्‍दा बलिया छन् । 7 मेरो प्राणलाई कैदबाट बाहिर निकाल्नुहोस्, ताकि म तपाईंको नाउँलाई धन्‍यवाद दिन सकूँ । धर्मीहरू मेरो चारैतिर भेला हुन्‍छन् किनभने तपाईं मप्रति असल हुनुभएको छ ।"