135
परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । 2 तिमीहरू जो परमप्रभुको मन्‍दिरमा, हाम्रा परमेश्‍वरको मन्‍दिरको चोकहरूमा खडा हुन्‍छौ । 3 परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्‍छ । उहाँको नाउँको स्तुति गाओ, किनकि यसो गर्नु सुखद कुरा हो । 4 किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्पत्तिको रूपमा रोज्‍नुभएको छ । 5 परमप्रभु महान् हुनुहुन्‍छ भनी म जान्‍दछु, कि हाम्रो परमप्रभु सबै देवताहरू भन्‍दा माथि हुनुहुन्‍छ । 6 परमप्रभुले जे इच्‍छा गर्नुहुन्‍छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइहरूमा उहाँले त्‍यही गर्नुहुन्‍छ । 7 उहाँले बादललाई टाढाबाट, चट्‌याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्‍छ, र आफ्नो भण्डारबाट हुरीबतास निकाल्नुहुन्‍छ । 8 उहाँले मिश्र देशमा मानिस र पशु दुवैको जेठोलाई मार्नुभयो । 9 उहाँले मिश्र देशमा तिमीहरूका माझमा फारो र त्‍यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो । 10 उहाँले धेरै जातिहरूलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो, 11 एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्‍यहरूलाई । 12 तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिसहरू इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो । 13 हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्‍छ । हे परमप्रभु, तपाईंको कीर्ति सबै पुस्ताहरूमा रहन्‍छ । 14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्‍छ र आफ्ना सेवकहरूमाथि दया देखाउनुहुन्‍छ । 15 जातिहरूका मूर्तिहरू सुन र चाँदीका मानिसहरूका हातका कामहरू हुन् । 16 ती मूर्तिहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् । 17 तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्‍दैनन्, न त तिनीहरूका मुखमा सास नै छ । 18 तिनीहरूलाई बनाउनेहरू तिनीहरू जस्‍तै हुन्‍छन् जस्‍तो तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति हुन्‍छ । 19 हे इस्राएलका सन्‍तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्‍तानहरू, परमप्रभुको प्रशंसा गर । 20 हे लेवीका सन्‍तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर । 21 सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा वास गर्नुहुन्‍छ । परमप्रभुको प्रशंसा गर ।