88
हे परमप्रभु, मेरो उद्धारको परमेश्‍वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु । 2 मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो पुकारामा ध्‍यान दिनुहोस् । 3 किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ । 4 मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैँ व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ । 5 म मृतहरूका माझमा त्‍यागिएको छु । म चिहानमा पल्टेको मृत जस्‍तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्‍न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्‍छन् । 6 तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्‍यारो र गहिरो ठाउँमा राख्‍नुहुन्‍छ । 7 तपाईंको क्रोध मलाई गह्रौँ भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्‍छन् । सेला 8 तपाईंकै कारणले मेरा चिनेजानेकाहरूले मलाई बेवास्ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बीभत्स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ । 9 मेरा आँखाहरू कष्‍टले कमजोर हुन्‍छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । 10 के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्‍छ र ? के मरेकाहरू उठ्नेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र ? सेला 11 के तपाईंको करारको विश्‍वस्तता चिहानमा, तपाईंको बफादारिता मृतकहरूका ठाउँमा घोषणा गरिनेछ र ? 12 के तपाईंका अचम्मका कामहरू अन्धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र ? 13 तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ । 14 हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्‍छ ? 15 मेरो जवान अवस्थादेखि नै म सधैँ कष्‍टमा परेको छु र मृत्‍युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशामा छु । 16 तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्दा कामहरूले मलाई नाश पारेका छन् । 17 तिनीहरूले मलाई दिनभरि पानीले झैँ घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् । 18 तपाईंले हरेक मित्र र चिनेजानेकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनेजानेको भनेको अन्धकार मात्र हो ।