75
हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ । हामी धन्यवाद दिन्छौँ, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्मका कामहरूका बारेमा बताउँछन् । 2 तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु । 3 पृथ्वी र यसका सबै बासिन्दाहरू डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला 4 मैले अहंकारीलाई भनेँ, "अहंकारी नहो" र दुष्टहरूलाई भनेँ, "सीङ ठाडो नपार् ।" 5 आफ्ना सीङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् । 6 उचाल्ने कुरा पूर्वबाट वा, पश्चिमबाट होइन र त्यो उजाडस्थानबाट आउने होइन । 7 तर परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ । उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ । 8 किनकि परमप्रभुले आफ्नो हातमा फिँज आइरहेको दाखमद्यको कचौरा समात्नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र यसलाई खन्याउनुहुन्छ । निश्चय नै पृथ्वीका सबै दुष्टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् । 9 तर तपाईंले भन्नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्वरको स्तुति म गाउनेछु । 10 उहाँ भन्नुहुन्छ, "दुष्टहरूका सबै सीङलाई म काट्नेछु, तर धर्मीहरूका सीङहरू माथि उचालिनेछन् ।"