73
निश्‍चय नै परमेश्‍वर इस्राएलको निम्ति, शुद्ध हृदय हुनेहरूका निम्ति भला हुनुहुन्‍छ । 2 तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्ले । 3 किनभने जब मैले दुष्‍टहरूका फलिफाप देखेँ, तब मैले अहंकारीहरूको डाह गरेँ । 4 किनकि मृत्‍युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँदैन, तर तिनीहरू बलिया र स्वस्थ हुन्‍छन् । 5 अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्त छन् । अरू मानिसहरूलाई झैँ तिनीहरूलाई कष्‍ट हुँदैन । 6 तिनीहरूका घाँटीमा सिक्रीझैँ तिनीहरू घमण्डले सजिन्‍छन् । वस्‍त्रले ढाकेझैँ तिनीहरूलाई हिंसाले ढाक्‍नेछ । 7 यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्‍ट विचारहरू जान्‍छन् । 8 तिनीहरू दुष्‍टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्नो अहंकारमा तिनीहरूले अत्‍यचारको धम्की दिन्‍छन् । 9 आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् । 10 यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्‍छन् र प्रशस्त पानी बगाइन्‍छ । 11 तिनीहरू भन्‍छन्, "परमेश्‍वरले कसरी जान्‍नुहुन्‍छ ? के सर्वोच्‍चसँग ज्ञान छ र ? 12 हेर्नुहोस्ः यी मानिसहरू दुष्‍टहरू हुन् । तिनीहरू निश्‍चिन्‍त छन् र झन्-झन् धनी हुँदैछन् । 13 निश्‍चय नै मैले व्यर्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषपनामा मेरा हातहरू धोएको छु । 14 किनकि म दिनभरि कष्‍टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु । 15 "म यी कुराहरू भन्‍नेछु", भनी मैले भनेको भए, तपाईंका छोराछोरीहरूका यो पुस्तालाई मैले धोका दिने थिएँ । 16 मैले यी कुराहरू बुझ्‍ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो । 17 तब म परमेश्‍वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्‍तिम अवस्थालाई बुझेँ । 18 निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्लो ठाउँहरूमा राख्‍नुहुन्‍छ । तपाईंले तिनीहरूलाई सर्वनाशमा लानुहुन्‍छ । 19 तिनीहरू कसरी क्षणभरमा नै उजाडस्थान बने ! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्त पारिए । 20 कोही ब्युँझँदा, ती सपनामा भए जस्‍तो हुन्‍छन् । हे परमप्रभु, जब तपाईं खडा हुनुहुन्‍छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्‍न । 21 किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ । 22 म मूर्ख थिएँ र अन्‍तरदृष्‍टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशु जस्‍तै थिएँ । 23 तापनि म सधैँ तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ । 24 तपाईंले मलाई आफ्नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ । 25 स्वर्गमा तपाईंबाहेक मेरो को छ र ? पृथ्वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन । 26 मेरो शरीर र मेरो मुटु कमजोर हुन्‍छन्, तर परमेश्‍वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्‍छ । 27 तपाईंदेखि टाढा हुनेहरू नष्‍ट हुनेछन् । तपाईंप्रति विश्‍वासयोग्य नहुनेहरूलाई तपाईंले नष्‍ट पार्नुहुनेछ । 28 तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिँ परमेश्‍वरको नजिक जाने हो । परमप्रभु परमेश्‍वरलाई मैले आफ्नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।