72
हे परमेश्वर, राजालाई आफ्नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् । 2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् । 3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्न गरून् । डाँडाहरूले धार्मिकता उत्पन्न गरून् । 4 उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीहरूलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् । 5 सूर्य रहेसम्म र चन्द्रमा रहुन्जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् । 6 काटेको घाँसमा झरी परेझैँ र पृथ्वीलाई भिजाउने झरीझैँ उनी तल आऊन् । 7 उनको समयमा धर्मीहरूको फलिफाप होस् र चन्द्रमाको लोप नभएसम्म त्यहाँ प्रशस्त शान्ति होस् । 8 उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् । 9 उजाडस्थानमा बस्नेहरू उनको सामु घोप्टो परेर दण्डवत् गरून् । उनका शत्रुहरूले धूलो चाटून् । 10 तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजाहरूले उपहारहरू ल्याऊन् । 11 वास्तवमा, सबै राजा उनको सामु घोप्टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् । 12 उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् । 13 उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन् । 14 उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्टिमा तिनीहरूका रगत बहुमूल्य हुन्छ । 15 उनी जीवित रहून् ! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैँ प्रार्थना गरून् । परमेश्वरले उनलाई दिनभरि आशिष् देऊन् । 16 देशमा अन्नको प्रशस्तता होस् । पहाडका टुप्पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैँ फल्दोफुल्दो होऊन् । 17 उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशिषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् । 18 परमप्रभु परमेश्वर, इस्राएलको परमेश्वर धन्यको होऊन्, जसले मात्र अचम्मका कामहरू गर्नुहुन्छ । 19 उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन अनि आमेन । 20 यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ ।