69
हे परमेश्‍वर, मलाई बचाउनुहोस् । किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ । 2 म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढीहरू बग्छन् । 3 म आफ्नो चित्कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्‍वरमा आशा गर्दा मेरा आँखाहरू धमिला हुन्‍छन् । 4 बिनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपाल भन्‍दा धेरै छन् । मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्‍नेहरू शक्तिशाली छन् । मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ । 5 हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्‍छ र मेरा पापहरू तपाईंबाट लुकेका छैनन् । 6 हे सर्वशक्तिमान् परमप्रभु, मेरो कारणले तपाईंमा आशा राख्‍नेहरू लज्‍जित नहोऊन् । हे इस्राएलको परमेश्‍वर, मेरो कारणले तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून् । 7 तपाईंको खातिर मैले हप्की सहेको छु । मेरो मुहार लाजले ढाकेको छ । 8 मेरा भाइहरूका निम्ति म बिरानो, मेरी आमाका सन्‍तानहरूका निम्ति विदेशी भएको छु । 9 किनकि तपाईंको मन्‍दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ । 10 जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे । 11 जब मैले भाङ्‌ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनेँ । 12 सहरको ढोकामा बस्‍नेहरूले मेरो बारेमा कुरा गर्छन् । म जड्‌याँहाहरूका गीत भएको छु । 13 तर हे परमप्रभु, मेरो प्रार्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ । तपाईंको उद्धारको विश्‍वस्ततामा मलाई जवाफ दिनुहोस् । 14 मलाई दलदलबाट निकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् । 15 बाढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्न दिनुहोस् । खाडलले ममाथि आफ्नो मुख बन्‍द नगरोस् । 16 हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्‍वस्तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् । 17 आफ्नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म सङ्‌कष्‍टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् । 18 मकहाँ आउनुहोस् र मलाई उद्धार गर्नुहोस् । मेरा शत्रुहरूका कारणले मोल तिरेर मेरो उद्धार गर्नुहोस् । 19 मेरो हप्की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् । 20 हप्कीले मेरो हृदय तोडिएको छ । म गह्रौँ बोझले दबिएको छु । कोही दया गर्ने मानिस मैले खोजेँ, तर कोही थिएन । मैले सान्‍त्वना दिनेहरू खोजेँ, तर मैले कोही भेटिनँ । 21 खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए । 22 तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् । 23 तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैँ दुर्बल बनाउनुहोस् । 24 तिनीहरूमाथि आफ्नो क्रोध खन्‍याउनुहोस् र तपाईंको रीसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् । 25 तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् । 26 किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्‍याए । 27 अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् । 28 तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् । 29 तर म गरीब र दुःखी छु । हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई उच्‍च स्थानमा बसालोस् । 30 गीत गाउँदै म परमश्‍वरको नाउँको प्रशंसा गर्नेछु र धन्‍यवादको साथ उहाँलाई उच्‍च पार्नेछु । 31 सीङ्हरू र खुरहरू भएका गोरु वा साँढेले भन्‍दा धेरै त्‍यसले परमप्रभुलाई खुसी पार्नेछ । 32 नम्रहरूले यो देखेका छन् र खुसी भएका छन् । परमेश्‍वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस् । 33 किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्‍छ र आफ्ना कैदीहरूलाई घृणा गर्नुहुन्‍न । 34 स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् । 35 किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्‍यहाँ बसोबास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् । 36 उहाँका सेवकहरूका सन्‍तानहरूले यसको उत्तराधिकार प्राप्त गर्नेछन् । अनि उहाँको नाउँलाई प्रेम गर्नेहरू त्‍यहाँ बस्‍नेछन् ।