68
परमेश्‍वर उठ्नुभएको होस् । उहाँका शत्रुहरू तितरबितर होऊन् । उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून् । 2 जसरी धूवाँ उडेर जान्‍छ, त्‍यसरी नै तिनीहरूलाई उडाउनुहोस् । जसरी आगोको नजिक मैनबत्ती पग्लिन्‍छ, त्‍यसरी नै दुष्‍टहरू परमेश्‍वरको उपस्थितिमा नाश होऊन् । 3 तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्‍वरको सामु ज्‍यादै खुसी होऊन् । तिनीहरू आनन्‍दित होऊन् र खुसी होऊन् । 4 परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेँसीको मैदानमा सवार हुनुहुनेको निम्ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ । 5 अनाथहरूका बुबा, विधवाहरूका न्‍यायकर्ता पवित्र स्थानमा वास गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ । 6 एक्लो व्यक्तिलाई परमेश्‍वरले परिवार दिनुहुन्‍छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्‍छ । तर विद्रोहीहरूचाहिँ सुक्‍खा जमिनमा बस्छन् । 7 हे परमेश्‍वर, जब तपाईं आफ्ना मानिसहरूका अघि जानुभयो, जब तपाईं उजाडस्थानमा हिँड्नुभयो, सेला 8 तब पृथ्वी काम्यो । परमेश्‍वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्‍वरको उपस्थितिमा, इस्राएलका परमेश्‍वर, परमेश्‍वरको उपस्थितिमा, आकाशले पनि वृष्‍टि खन्‍यायो । 9 हे परमेश्‍वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्‍यसलाई बलियो पार्नुभयो । 10 तपाईंका मानिसहरू यसमा बसोबास गरे । हे परमेश्‍वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो । 11 परमप्रभुले आदेश दिनुभयो र तिनलाई घोषणा गर्नेहरू ठूला फौज थिए । 12 फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्‍त्रीहरूले लूटको माल बाँड्छन् 13 चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका । तिमीहरूमध्‍ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्‍यौ ? 14 सर्वशक्तिमान्‌ले त्‍यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो, त्‍यो सल्मोन डाँडामाथि हिउँ परेको बेला जस्‍तै थियो । 15 बाशानको पहाडी देशचाहिँ शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो । 16 हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्‍छा गर्नुहुन्‍छ ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा वास गर्नुहुन्‍छ । 17 परमेश्‍वरका रथहरू बीसौँ हजार, हजारौँ हजार छन् । परमप्रभु सीनैमा जस्‍तै पवित्र स्थानमा तिनीहरूका माझमा हुनुहुन्‍छ । 18 तपाईं उच्‍चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्‍यहाँ वास गर्नुभएको होस् । 19 परमप्रभु धन्‍यको होऊन्, जसले दिनदिनै हाम्रो बोझ उठाउनुहुन्‍छ । परमेश्‍वर जो हाम्रो उद्धार हुनुहुन्‍छ । सेला 20 हाम्रो परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ । हामीलाई मृत्‍युबाट बचाउन सक्षम परमप्रभु परमेश्‍वर नै हुनुहुन्‍छ । 21 तर परमेश्‍वरले आफ्नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिँड्नेहरूका कपाल भएका खप्‍परमा हिर्काउनुहुनेछ । 22 परमप्रभुले भन्‍नुभयो, "म आफ्ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु । तिनीहरूलाई समुद्रको गहिराइबाट म फर्काएर ल्याउनेछु । 23 ताकि आफ्ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् । 24 हे परमेश्‍वर, पवित्र स्थानमा तपाईंको शोभा-यात्रा, मेरो राजा, मेरो परमेश्‍वरको शोभा-यात्रा तिनीहरूले देखेका छन् । 25 पहिले गायकहरू गए, त्‍यसपछि वाद्यवादकहरू र बीचमा अविवाहित केटीहरूले खैँजडी बजाउँदै गए । 26 सभाहरूमा परमेश्‍वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर । 27 त्‍यहाँ सबै भन्‍दा सानो कुल बेन्‍यामीन, त्‍यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्तालीका अगुवाहरू छन् । 28 हे इस्राएल, तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्‍वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ । 29 यरूशलेमको तपाईंको मन्‍दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन् । 30 नर्कटका जङ्‌गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरू जस्ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्‍याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् । 31 मिश्र देशबाट शासकहरू बाहिर आउनेछन् । कूशले आफ्नै हातहरूले परमेश्‍वरको नजिक जान हतार गर्नेछ । 32 हे पृथ्वीका राज्‍यहरू हो, परमेश्‍वरको निम्ति गाओ । सेला परमप्रभुको स्तुति गाओ । 33 आकाशका स्वर्गमा सवार हुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्‍छ । 34 परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्‍वर्य छ र उहाँको बल आकाशमा छ । 35 हे परमेश्‍वर, तपाईं आफ्नो पवित्र स्थानमा भयावह हुनुहुन्‍छ । इस्राएलको परमेश्‍वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्‍छ ।