66
हे सारा पृथ्वी, परमेश्‍वरको निम्ति आनन्‍दले कराओ । 2 उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ । 3 परमेश्‍वरलाई भन, "तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् । 4 सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउनेछ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।" सेला 5 आओ र परमेश्‍वरका कामहरू हेर । मानवजातिका सन्‍तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयावह हुनुहुन्‍छ । 6 उहाँले समुद्रलाई सुक्‍खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिँडेर तरे । त्‍यहाँ हामी उहाँमा आनन्‍दित भयौँ । 7 उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्‍छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्‍च नपारून् । सेला 8 हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् । 9 उहाँले हामीलाई जीवितहरूका माझमा राख्‍नुहुन्‍छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुहुन्‍न । 10 हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच्‍नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैँ जाँच गर्नुभएको छ । 11 तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठिउँमाथि गह्रौँ बोझ राख्‍नुभयो । 12 तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो । 13 म तपाईंको मन्‍दिरमा होमबलि लिएर आउनेछु । म तपाईंमा आफ्नो भाकल पूरा गर्नेछु, 14 जुन म सङ्‌कष्‍टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले । 15 म तपाईंलाई थुमाहरूको सुगन्धित बास्‍नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला 16 हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु । 17 मैले आफ्नो मुखले उहाँमा पुकारा गरेँ र मेरो जिब्रोले उहाँको प्रशंसा गर्‍यो । 18 मैले आफ्नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्‍नुहुनेथिएन । 19 तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्‍यान दिनुभएको छ । 20 परमेश्‍वर धन्‍यको हुनुहुन्‍छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्‍वस्ततालाई मबाट हटाउनुभएको छैन ।