65
हे सियोनका परमेश्‍वर, हाम्रो प्रशंसाले तपाईंको आशा गर्छ । हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन् । 2 तपाईंले प्रार्थना सुन्‍नुहुन्‍छ । सबै मानिसहरू तपाईंकहाँ आउनेछन् । 3 अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा, तपाईंले ती क्षमा गर्नुहुनेछ । 4 तपाईंले आफ्नो नजिक ल्याउन चुन्‍नुभएको मानिस धन्‍यको हो, ताकि त्‍यो तपाईंको आँगनहरूमा बस्‍न सकोस् । तपाईंको घरको अर्थात् तपाईंको पवित्र मन्‍दिरको भलाइले हामी तृप्त हुनेछौँ । 5 हे हाम्रो उद्धारको परमेश्‍वर, अचम्मका कुराहरू गरेर तपाईंले धार्मिकतामा हामीलाई जवाफ दिनुहुनेछ । पृथ्वीको अन्‍तिम छेउ र समुद्रपारि टाढा रहनेहरूका आशा तपाईं नै हुनुहुन्‍छ । 6 किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्‍छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ । 7 समुद्रहरूका गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्‍त पार्ने तपाईं नै हुनुहुन्‍छ । 8 पृथ्वीका पल्लो छेउका भागहरूमा बस्‍नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीत हुन्‍छन् । तपाईंले पूर्व र पश्‍चिमलाई आनन्‍दित बनाउनुहुन्‍छ । 9 तपाईं पृथ्वीलाई सहायता गर्न आउनुहुन्‍छ । तपाईंले त्‍यसलाई भिजाउनुहुन्‍छ । तपाईंले त्‍यसलाई धेरै सम्‍पन्‍न तुल्याउनुहुन्‍छ । परमेश्‍वरका नदीमा पानी भरिएको छ । तपाईंले पृथ्वीलाई तयार गर्नुहुँदा तपाईंले मानवजातिलाई अन्‍न दिनुहुन्‍छ । 10 तपाईंले त्‍यसका जोतेका खेतलाई प्रशस्त पानीले भिजाउनुहुन्‍छ । तपाईंले जोतेका खेतका ठल्ला फुटाउनुहुन्‍छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्‍छ । तिनका बीचका बिरुवाहरूलाई तपाईंले आशिष् दिनुहुन्‍छ । 11 तपाईंले वर्षलाई आफ्नो भलाइको मुकुट लगाइदिनुहुन्‍छ र तपाईंका गाडाहरू प्रशस्तताले भरिएर पोखिन्‍छन् । 12 उजाडस्थानका खर्कहरूमा शीत झर्छ र डाँडाहरू आनन्‍दले ढाकिन्‍छन् । 13 खर्कहरू बगालहरूले ढाकिन्‍छन् । बेँसीहरू अन्‍नले ढाकिन्‍छन् । तिनीहरू आनन्‍दले कराउँछन् र तिनीहरू गाउँछन् ।