62
परमेश्‍वरमा मात्र म चुपचाप पर्खिन्‍छु । मेरो उद्धार उहाँबाट आउँछ । 2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्‍छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्‍छ । म धेरै डग्‍नेछैन । 3 तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बार जस्‍तै ढाल्न सक्छौ ? 4 त्‍यसको आदरको ठाउँबाट त्‍यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झूटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्‍यसलाई आशिष् दिन्‍छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्‍यसलाई सराप्छन् । सेला 5 परमेश्‍वरमा मात्र म चुपचाप पर्खिन्‍छु । किनकि मेरो आशा उहाँमा राखिएको छ । 6 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्‍छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्‍छ । म डग्‍नेछैन । 7 मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ । 8 ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्‍छ । सेला 9 निश्‍चय नै निम्‍न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्‍च स्तरका मानिसहरू झूट हुन् । तिनीहरू तराजूमा तौलिँदा हलुका हुन्‍छन् । एकसाथ तौलिँदा पनि तिनीहरू केही पनि हुँदैनन् । 10 थिचोमिचो वा लूटमा भरोसा नगर । अनि व्यर्थमा धनमा आशा नगर, किनकि तिनीहरूले कुनै फल दिनेछैनन् । आफ्नो हृदय तिनमा नलगाओ । 11 परमेश्‍वरले एक पल्ट बोल्नुभएको छ, मैले यो दुई पल्ट सुनेको छुः शक्ति परमेश्‍वरकै हो । 12 हे परमप्रभु, करारको विश्‍वस्तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्तिले जे गरेको छ त्‍यसको प्रतिफल तपाईंले दिनुहुन्‍छ ।