40
धैर्य भएर मैले परमप्रभुमा आशा गरेँ । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो । 2 उहाँले मलाई डरलाग्दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो । 3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो । परमेश्‍वरको प्रशंसा होस् । धेरै जनाले यो देख्‍नेछन्, र उहाँको आदर गर्नेछन् र परमप्रभुमा भरोसा गर्नेछन् । 4 परमप्रभुलाई आफ्नो भरोसा बनाउने र घमण्डीहरू वा उहाँबाट झूटतिर लाग्‍नेहरूलाई आदर नगर्ने मानिस धन्‍यको हो । 5 हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले गर्नुभएका अचम्‍मका कामहरू धेरै छन् र हाम्रो बारेमा भएका तपाईंका विचारहरू गन्‍न सकिँदैनन् । मैले तिनीहरूका बारेमा घोषणा गरेँ र बताएँ भने, तिनीहरू गन्‍न सक्‍ने भन्‍दा धेरै हुन्‍छन् । 6 बलिदान वा भेटीमा तपाईं खुसी हुनुहुन्‍न, तर तपाईंले मेरा कानहरू खोल्नुभएको छ । तपाईंले होमबलि वा पापबलिको इच्‍छा गर्नुभएको छैन । 7 तब मैले भनेँ, "हेर्नुहोस्, म आएको छु । लेखेको चर्मपत्रमा मेरो बारेमा यस्तो लेखिएको छ । 8 हे मेरो परमेश्‍वर, तपाईंको इच्‍छा पूरा गर्न म खुसी हुन्‍छु । तपाईंको व्यवस्था मेरो हृदयमा छन् । 9 ठूलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्‍नुहुन्‍छ । 10 आफ्नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्‍वस्तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठूलो सभाबाट तपाईंको करारको विश्‍वस्तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन । 11 हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् । 12 अनगिन्‍ती कष्‍टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, जसले गर्दा म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपाल भन्‍दा धेरै छन् र मेरो हृदयले मलाई निराश पारेको छ । 13 हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् । 14 मेरो ज्‍यान लिन मलाई खेद्‌नेहरू लज्‍जित होऊन् र पूर्ण रूपमा निराश होऊन् । मलाई चोट पुर्‍याउन खुसी हुनेहरू, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् । 15 मलाई, "आहा, आहा !" भन्‍नेहरू, तिनीहरू आफ्नो लाजको कारणले चकित होऊन् । 16 तर तपाईंको खोजी गर्नेहरू सबै जना आनन्‍दित होऊन् र खुसी होऊन् । तपाईंको उद्धारलाई प्रेम गर्ने हरेकले निरन्‍तर यसो भनोस्, "परमप्रभुको प्रशंसा होस् । 17 म गरीब र दरिद्र छु । तापनि परमप्रभुले मेरो बारेमा सोच्‍नुहुन्‍छ । तपाईं मेरो सहायता हुनुहुन्‍छ र तपाईं मलाई बचाउन आउनुहुन्‍छ । हे परमेश्‍वर, ढिला नगर्नुहोस् ।"