39
मैले निर्णय गरेँ, "म जे भन्‍छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरूँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्नो मुखलाई चुप राख्‍नेछु । 2 म शान्‍त बसेँ । कुनै असल कुरा भन्‍नलाई पनि मैले आफ्नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो । 3 मेरो हृदय तातो भयो । जब मैले यी कुराका बारेमा विचार गरेँ, तब त्‍यो आगोझैँ बल्यो । तब अन्‍तमा मैले बोलेँ । 4 "हे परमप्रभु, मेरो जीवनको अन्‍त कहिले हुन्‍छ र मेरो समय कहिलेसम्म छ सो मलाई जान्‍न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् । 5 हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्‍चय नै, हरेक मानिस एक सास मात्र हो । सेला 6 निश्‍चय नै हरेक मानिस छाया झैँ हिँड्‌डुल गर्छ । निश्‍चय नै हरेक व्यक्ति धन थुपार्न हतार गर्छ, तापनि ती कसले पाउनेछ भनी तिनीहरू जान्‍दैनन् । 7 हे परमप्रभु, म के पर्खिरहेको छु ? मेरो एक मात्र आशा तपाईं हुनुहुन्‍छ । 8 मेरा पापहरूबाट मलाई बचाउनुहोस् । मलाई मूर्खहरूको निन्‍दा नबाउनुहोस् । 9 म शान्‍त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्‍छ । 10 मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्काले म विह्‌वल भएको छु । 11 जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्‍छ, तब तिनीहरूले इच्‍छा गर्ने कुरालाई तपाईंले कीराले झैँ नष्‍ट पार्नुहुन्‍छ । निश्‍चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला 12 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् र मेरो कुरामा ध्‍यान दिनुहोस् । मेरो रोदन सुन्‍नुहोस् । मेरो कुरामा बहिरो नहुनुहोस्, किनकि तपाईंसँग म विदेशी जस्‍तै, मेरा सबै पुर्खा जस्‍तै एक जना शरणार्थी हुँ । 13 मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्क हाँस्‍न सकूँ ।