24
पृथ्वी र त्‍यसको पूर्णता, संसार र त्‍यसमा बसोबास गर्ने सबै परमप्रभुका हुन् । 2 उहाँले त्‍यसलाई समुद्रहरूमाथि बसाल्नुभएको छ र त्‍यसलाई नदीहरूमाथि स्थापित गर्नुभएको छ । 3 परमप्रभुको पर्वतमाथि को चढ्नेछ ? उहाँको पवित्रस्थानमा को खडा हुनेछ ? 4 त्‍यो जसका हातहरू शुद्ध छन् र हृदय शुद्ध छ । जसले झूटलाई उचालेको छैन र छल गर्नलाई शपथ खाएको छैन । 5 त्‍यसले परमप्रभुबाट आशिष् र त्‍यसको उद्धारको परमेश्‍वरबाट धार्मिकता प्राप्त गर्नेछ । 6 उहाँको खोजी गर्नेहरूका पुस्ता, याकूबका परमेश्‍वरको मुहार खोज्‍नेहरू यस्तै हुन्‍छन् । सेला 7 ए मूल ढोकाहरू हो, आफ्ना शिर उठाओ । ए अनन्‍त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन् । 8 महिमाको यो राजा को हुनुहुन्‍छ ? परमप्रभु, बलियो र शक्तिशाली । परमप्रभु, युद्धमा शक्तिशाली । 9 ए मूल ढोकाहरू हो, आफ्ना शिर उठाओ । हे अनन्‍त ढोकाहरू हो, उच्‍च होओ, ताकि महिमाका राजा भित्र आऊन् । 10 महिमाको यो राजा को हुनुहुन्‍छ ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाको राजा हुनुहुन्‍छ । सेला