15
हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्न सक्छ ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ ? 2 जो निर्दोष भएर हिँड्छ, जसले ठीक काम गर्छ र आफ्नो हृदयले सत्य बोल्छ । 3 त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्याउँदैन । 4 उसको दृष्टिमा व्यर्थको व्यक्ति घृणित हुन्छ, तर परमप्रभुको भय मान्नेहरूलाई त्यसले आदर गर्छ । त्यसले आफ्नो हानि हुँदा पनि शपथ खान्छ र आफ्नो प्रतिज्ञाहरूबाट पछि हट्दैन । 5 त्यसले रुपियाँ दिँदा ब्याज लिँदैन । निर्दोषको विरुद्धमा साक्षी दिन त्यसले घूस लिँदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्नेछैनन् ।