14
मूर्खले आफ्नो हृदयमा भन्‍छ, "परमेश्‍वर हुनुहुन्‍न ।" तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन । 2 बुझ्‍ने कोही छन् कि, परमप्रभुलाई खोज्‍ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीहरूलाई स्वर्गबाट हेर्नुहुन्‍छ । 3 तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन । 4 तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैँ खान्‍छन्, तर जसले परमप्रभुलाई पुकारा गर्दैनन्, के तिनीहरू केही कुरा पनि जान्‍दैनन् र ? 5 तिनीहरू डरले काम्छन्, किनकि परमेश्‍वर धर्मी सभामा हुनुहुन्‍छ । 6 तिमीहरू गरीब व्यक्तिको अपमान गर्ने इच्‍छा गर्छौ तापनि परमप्रभु त्‍यसको शरणस्थान हुनुहुन्‍छ । 7 ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।