8
हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्‍छ । 2 तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्‍त गराउन सक्‍नुभएको होस् । 3 जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औँलाहरूले बनाए, चन्‍द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्‍नुभएको छ, 4 मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्‍छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूलाई वास्ता दिनुहुन्‍छ ? 5 तापनि तपाईंले तिनीहरूलाई स्वर्गीय प्राणीहरू भन्‍दा थोरै मात्र निम्‍न बनाउनुभएको छ र तिनीहरूलाई महिमा र आदरको मुकुट दिनुभएको छ । 6 तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्‍यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्‍यसको पाउमुनि राख्‍नुभएको छः 7 सबै भेडा र गोरु अनि मैदानका पशुहरू, 8 आकाशका चराहरू र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिँड्ने हरेक कुरा । 9 हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ !