7
हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंमा शरण लिन्‍छु । मलाई खेद्‌ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् । 2 नत्र तिनीहरूले मलाई सिंहले झैँ टुक्राटुक्रा पार्नेछन्, मलाई सुरक्षा दिने कोही नहुँदा मलाई च्‍यातेर टुक्रा गर्नेछन् । 3 हे परमप्रभु मेरो परमेश्‍वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने, 4 मसँग मिलापमा हुनेलाई मैले खराबीको गरेको छु भने, वा बिनाकारण मैले आफ्ना शत्रुलाई हानि गरेको छु भने, मेरा शब्दहरू सुन्‍नुहोस् । 5 तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्‍यसले मेरो जीवनलाई भुइँमा कुल्चोस् र मेरो आदर भुइँमा मिलाओस् । सेला 6 हे परमप्रभु, आफ्नो रीसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्धमा खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पूरा गर्नुहोस् । 7 देशहरू तपाईंको वरिपरि भेला हुन्‍छन् । तिनीहरूमाथि फेरि पनि आफ्नो उचित स्थान लिनुहोस् । 8 हे परमप्रभु, जातिहरूको न्‍याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु । 9 दुष्‍टका खराब कामहरूको अन्‍त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्‍नुहुन्‍छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् । 10 मेरो ढाल परमेश्‍वरबाट आउँछ, जसले सोझो हृदय हुनेलाई बचाउनुहुन्‍छ । 11 परमेश्‍वर धर्मी न्‍यायकर्ता हुनुहुन्‍छ, परमेश्‍वर जो हरेक दिन क्रोधित हुनुहुन्‍छ । 12 मानिसले पश्‍चाताप गर्दैन भने, परमेश्‍वरले युद्धको निम्ति आफ्नो तरवार धारिलो पार्नुहुन्‍छ, र आफ्नो धनु तयार पार्नुहुन्‍छ । 13 त्‍यसको विरुद्धमा हतियार प्रयोग गर्ने तयारी उहाँले गर्नुहुन्‍छ । उहाँले आफ्ना बाणहरूलाई अग्‍निबाण बनाउनुहुन्‍छ । 14 त्‍यस्तो व्यक्तिको बारेमा विचार गर जसका कल्पना दुष्‍टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्‍छ, जसले हानिकारक झूटहरू जन्‍माउँछ । 15 त्‍यसले खाडल खन्‍छ र त्‍यसलाई गहिरो बनाउँछ अनि त्‍यसले बनाएको खाल्‍डोमा खस्छ । 16 त्‍यसका आफ्नै विनाशपूर्ण योजनाहरू त्‍यसका आफ्नै शिरमाथि पर्छन्, किनभने त्‍यसको हिंसा त्‍यसको आफ्नै शिरमाथि आउँछ । 17 परमप्रभुको न्‍यायको निम्ति म उहाँलाई धन्‍यवाद दिनेछु । सर्वोच्‍च परमप्रभुको निम्ति म प्रशंसाको गीत गाउनेछु ।