4
हे मेरा धार्मिकताका परमेश्‍वर, मैले पुकारा गर्दा मलाइ जवाफ दिनुहोस् । म घेरामा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस् । 2 ए मानिसहरू, मेरो इज्‍जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ ? कहिलेसम्म तिमीहरू व्यर्थका कुरालाई प्रेम गर्छौ अनि झूटको पछि लाग्छौ ? सेला 3 तर धर्मीहरूलाई परमप्रभुले आफ्नो निम्ति अलग गर्नुहुन्‍छ भनी जान । मैले परमप्रभुलाई पुकारा गर्दा उहाँले सुन्‍नुहुनेछ । 4 डरले काम, तर पाप नगर । आफ्नो ओछ्यानमा आफ्नो मनमा ध्‍यान गर र शान्‍त होओ । सेला 5 धार्मिकताका बलिदानहरू चढाओ र आफ्नो भरोसा परमप्रभुमा राख । 6 धेरै जना भन्‍छन्, "हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र ?" हे परमप्रभु, तपाईंको मुहारको ज्‍योति हामीमा चम्काउनुहोस् । 7 अरूसँग आफ्नो अन्‍न र नयाँ दाखमद्य प्रशस्त भएको बेलामा भन्‍दा धेरै खुसी तपाईंले मेरो हृदयमा दिनुभएको छ । 8 शान्‍तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्‍छ ।