18
तब बिल्दद शुहीले जवाफ दिए र भने,2 "आफ्नो कुरा तपाईं कहिले बन्‍द गर्नुहुन्छ ? विचार गर्नुहोस्, र त्‍यसपछि हामी बोल्नेछौँ ।3 तपाईंको दृष्‍टिमा हामी किन जङ्‌गली पशुहरू जस्‍तै मूर्ख छौँ ?4 तपाईंले आफ्नो रीसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्ति पृथ्वीलाई त्‍यागिदिने ? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने ?5 वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।6 उसको पालमा ज्‍योति नै अँध्‍यारो हुनेछ । उसमाथि रहेको उसको बत्ती निभाइनेछ ।7 उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् ।8 किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फाल्नेछ । ऊ खल्डोतिर भौँतारिँदै जानेछ ।9 पासोले त्‍यसलाई कुर्कुच्‍चोमा समात्‍नेछ । जालले त्‍यसलाई पसाउनेछ ।10 उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्‍नेछ ।11 त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्‌नेछन् ।12 उसको धन-सम्पत्तिले भोकमा पुर्‍याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ ।13 उसको शरीरका अङ्‌गहरू नष्‍ट पारिनेछन् । वास्तवमा, मृत्‍युको जेठो सन्‍तानले उसका अङ्‌गहरू निल्नेछ ।14 आफ्नो पालको सुरक्षाबाट उसलाई घिस्याइन्छ, र त्रासको राजाकहाँ लगिन्छ ।15 अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍नेछैनन् ।16 उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।17 पृथ्वीबाट उसको सम्झना लुप्त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।18 उसलाई उज्‍यालोबाट अँध्‍यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।19 उसका मानिसहरूका बीचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्‍त हुनेछ ।20 एक दिन उसलाई जे हुन्छ, त्‍यसमा पश्‍चिममा बस्‍ने मानिसहरू आतङ्‌कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् ।21 निश्‍चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्छन् । परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुनेछन् ।"