2
तब अर्को दिनमा परमेश्‍वरका छोराहरूले आफैलाई परमप्रभुको सामु उपस्थित गराउनलाई आए । शैतान पनि परमप्रभुको सामु आफैलाई उपस्थित गराउन तिनीहरूसँगै आयो ।2 परमप्रभुले शैतानलाई सोध्‍नुभयो, "तँ कहाँबाट आइस् ?" शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, "पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ ।"3 परमप्रभुले त्‍यसलाई भन्‍नुभयो, "के तैँले मेरो दास अय्‍यूबलाई विचार गरेको छस् ? किनकि पृथ्वीमा त्‍यो जस्‍तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्‍छ र खराबीबाट अलग बस्छ । बिनाकारण त्‍यसलाई नाश गर्न त्‍यसको विरुद्धमा तैँले मलाई भ्रममा पारेको भए तापनि त्‍यसले अझै आफ्नो निष्‍ठा कायम राखेको छ ।"4 शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, "वास्तवमा नै छालाको साटो छाला हुन्‍छ । एक जना मानिसले आफ्नो ज्‍यानको लागि आफूसित भएका सबै थोक दिन्‍छ ।5 तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्‌डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।"6 परमप्रभुले शैतानलाई भन्‍नुभयो, "हेर्, त्‍यो तेरै हातमा छ । त्‍यसको जीवन मात्र चाहिँ तैँले छोड्नैपर्छ ।"7 तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्‍तै गयो । त्‍यसले अय्‍यूबलाई तिनको पाउको कुर्कुच्‍चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्‍यो ।8 आफूलाई कन्‍याउन अय्‍यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बीचमा बसे ।9 तब तिनकी पत्‍नीले तिनलाई भनिन्, "के तपाईं अझै पनि आफ्नो निष्‍ठामा रहनुहुन्‍छ ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस् ।"10 तर तिनले उनलाई भने, "एक जना मूर्ख स्‍त्रीले बात गरेझैँ तिमी बात गर्छ्यौ । के हामीले परमेश्‍वरबाट असल कुराचाहिँ ग्रहण गर्नु अनि खराब कुराचाहिँ ग्रहण नगर्नु ?" यी सबै कुरामा अय्‍यूबले आफ्नो मुखले पाप गरेनन् ।11 जब अय्‍यूबका तीन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्‍त्वना दिन तिनीहरूले समय निकाले ।12 जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन् । तिनीहरूले आफ्ना स्‍वर उचालेर कराए र रोए । हरेकले आफ्नो लुगा च्‍याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले ।13 तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे । कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्‍यन्‍तै ठूलो भएको तिनीहरूले देखे ।