34
योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे ।2 तिनले परमप्रभुको दृष्टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिँडे र दाहिने वा देब्रेतिर फर्केनन् ।3 किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे ।4 मानिसहरूले तिनको उपस्थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्राटुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू टुक्राटुक्रा पारेर धूलोपीठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धूलो छरिदिए ।5 तिनका पूजाहारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषहरूमा पनि त्यसै गरे ।7 तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धूलोपीठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्राटुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।8 योशियाहले देश र मन्दिर शुद्ध पारिसकेपछि, तिनले आफ्नो राज्यकालको अठारौँ वर्षमा असल्याहका छोरा शापान, सहरका बडाहाकिम मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्वरको मन्दिर मर्मत गर्न पठाए ।9 तिनीहरू प्रधान पूजाहारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाहरूबाट जम्मा गरेर ल्याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।10 परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिवेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मर्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्याला तिरे ।11 सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनका लागि काठहरू किन्नलाई तिनीहरूले पैसा दिए ।12 यी मानिसहरूले विश्वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।13 यी लेवीहरू निर्माण सामाग्री बोक्नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।14 तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पूजाहारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।16 शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।17 तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”18 सचिव शापानले राजालाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।19 यस्तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,21 “जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो ठूलो छ, परमप्रभुको क्रोध जुन हामीमाथि खन्याइएको छ । यो ठूलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”22 यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटा हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।23 तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,24 ‘परमप्रभु यसो भन्नुहुन्छः हेर्, मैले यहूदाका राजाको सामुन्ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।25 यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रीस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइनेछ, र यो निभाइनेछैन’ ।26 तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः27 तेरो हृदय नरम भएको हुनाले, र परमेश्वरले यो ठाउँ र यसका बासिन्दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैँले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्ती सुनेको छु - यो परमप्रभुको घोषणा हो -28 हेर्, तेरा पुर्खाहरूसँगै तँलाई म जम्मा गर्नेछु । तँ शान्तिसित आफ्नो चिहानमा गाडिनेछस्, र यस ठाउँ र यसका बासिन्दाहरूमाथि मैले ल्याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्ने छैनन्’ ।” ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्याए ।29 त्यसपछि राजाले दूतहरू पठाए र यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला गराए ।30 तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पूजाहारी र लेवीहरू, साना-ठूला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढे ।31 राजा आफ्नो स्थानमा खडा भए र परमेश्वरलाई पछ्याउने र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने वाचा परमप्रभुको सामुन्ने गरे ।32 तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करारअनुसार हिँड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्वर, तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार काम गरे ।33 योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्ने सबैलाई परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।