26
यहूदाका सबै मानिसहरूले सोह्र वर्ष उमेर पुगेका उज्जियाहलाई लिए र तिनका पिता अमस्याहको ठाउँमा तिनलाई राजा बनाए ।2 यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे र यहूदामा फिर्ता ल्याए । त्यसपछि राजा आफ्ना पुर्खाहरूसित सुते ।3 उज्जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थियो । तिनी यरूशलेमकी थिइन् ।4 तिनले हरेक कुरामा आफ्ना पिता अमस्याहको उदाहरण पछ्याएर परमप्रभुको दृष्टिमा जे कुरो असल थियो सो गरे ।5 तिनलाई परमेश्वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्वरको अगुवाइ खोज्नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनुभयो ।6 उज्जियाह बाहिर गए र पलिश्तीहरूसँग युद्ध गरे । तिनले गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए । तिनले अश्दोदको गाउँमा र पलिश्तीहरूका बीचमा सहरहरू बनाए ।7 परमेश्वरले तिनलाई पलिश्तीहरू, गूर-बालमा बस्ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो ।8 अम्मोनीहरूले उज्जियाहलाई कर तिरे, र तिनको ख्याति मिश्र देशको ढोकासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।9 साथै उज्जियाहले यरूशलेममा कुने-ढोका, बेँसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।10 तिनले उजाडस्थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेँसी दुवैमा तिनका गाईवस्तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।11 यसबाहेक उज्जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फौजका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका सेनापतिहरूमध्ये एक जना हनन्याहको अधीनमा युद्धमा जान्थे ।12 वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा सङ्ख्या २,६०० थियो ।13 तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक वीर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्याउन ठूलो शक्तिका साथमा युद्ध गरे ।14 तिनीहरूका निम्ति - सबै फौजका निम्ति उज्जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्रोहरू तयार गरे ।15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठूला ढुङ्गा हान्ने यन्त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्याति टाढाका देशसम्म पुग्यो, किनकि तिनलाई ठूलो सहायता मिलेको थियो र यसैले तिनी धेरै शक्तिशाली भए ।16 तर जब उज्जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो जसले गर्दा तिनले भ्रष्ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्नलाई तिनी परमप्रभुको मन्दिरमा पसे ।17 पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू राजा उज्जियाहको पछिपछि भित्र गए ।18 तिनीहरूले उज्जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईंको होइन, तर हारूनको वंशका पूजाहारीहरूको हो, जसलाई धूप बाल्नलाई अभिषेक गरिएको छ । पवित्रस्थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्वासघात गर्नुभएको छ र परमप्रभु परमेश्वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”19 तब उज्जियाह रिसाए । तिनले धूप बाल्नलाई हातमा धुपौरो समातेका थिए । तिनी पूजाहारीहरूसँग रिसाएको बेलामा, ती पूजाहारीहरूकै सामुन्ने परमप्रभुको मन्दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो ।20 प्रधान पूजाहारी अजर्याह र अरू पूजाहारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्ठरोग निस्केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो ।21 राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कुष्ठरोगी भए । तिनी कुष्ठरोगी भएको हुनाले अलग्गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्दिरबाट बहिष्कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।22 उज्जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्त्यसम्मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन् ।23 यसरी उज्जियाह आफ्ना पुर्खाहरूसित सुते । तिनीहरूले तिनलाई राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्ठरोगी हुन् ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।