17
आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्धमा आफैलाई मजबूत बनाए ।2 तिनले यहूदाका किल्ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे ।3 परमप्रभु यहोशापातसँग हुनुहुन्‍थ्यो किनकि तिनी आफ्ना पिता दाऊदका सुरुका मार्गहरूमा हिँडे, र बालको खोजी गरेनन् ।4 बरू, तिनले आफ्ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्यवहारअनुसार होइन ।5 यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्पत्ति र ख्याति प्रशस्त थियो ।6 तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।7 आफ्नो राजकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए ।8 तिनीहरूसँग लेवीहरू शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पूजाहारी एलीशामा र यहोराम थिए ।9 तिनीहरूले आफूसित परमप्रभुका व्यवस्थाको पुस्तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरहरूमा गए र मानिसहरूका माझमा सिकाए ।10 यहूदाको वरिपरि भएका सबै राज्‍यहरूमा परमप्रभुको भय पर्‍यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन् ।11 पलिश्तीहरूमध्‍ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको सौगात ल्याए । अरबीहरूले तिनका निम्ति पनि सात हजार सात सय भेडाहरू र सात हजार सात सय बोकाहरू ल्याए ।12 यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्लाहरू र भण्डार राख्‍ने सहरहरू बनाए ।13 यहूदाका सहरहरूमा तिनीसँग प्रशस्त खानेकुरा र यरूशलेममा सिपाहीहरू - शक्तिशाली योद्धाहरू थिए ।14 तिनीहरूका आ-आफ्नो पिताका घरानाअनुसार सूचीकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका सेनापतिहरू, सेनापति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।15 तिनीपछि सेनापति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू ।16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्‍छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाख योद्धाहरू ।17 बेन्‍यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्यादा, र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज ।18 तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।19 यिनीहरू सारा यहूदाभर किल्ला भएका सहरहरूमा राजाले राखेका भन्‍दाबाहेकका थिए जसले राजाको सेवा गर्थे ।