10
यति बेला पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्तीहरूको सामुबाट भागे र गिल्बो डाँडामा मरे ।2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।3 शाऊलको विरुद्धमा युद्ध कठिन भयो, र धनुर्धारीहरू तिनीमाथि जाइलागे, र उनीहरूले तिनलाई घाइते बनाए ।4 त्‍यसपछि शाऊलले आफ्नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच् । नत्रता यी बेखतनेहरू आउनेछन् र मलाई दुःख दिनेछन् ।” तर तिनको हतियार बोक्‍नेले त्‍यसो गरेन, किनकि ऊ धेरै डराएको थियो । यसैले शाऊलले आफ्नो तरवार थुते र त्‍यसमा छेडिए ।5 जब तिनको हतियार बोक्‍नेले शाऊल मरेका देख्यो, तब ऊ पनि त्‍यसरी नै आफ्नो तरवारमा छेडिएर मर्‍यो ।6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, त्‍यसैले तिनका परिवारका सबै जना एकैपटक मरे ।7 जब मैदानमा भएका इस्राएलका सबै मानिसहरूले आ-आफ्ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडे र भागे । अनि पलिश्तीहरू त्‍यहाँ आए र बसोबास गरे ।8 भोलिपल्ट यस्तो भयो, जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मरेका भेट्टाए ।9 उनीहरूले तिनलाई नङ्‌ग्याए, तिनका टाउको र तिनका हतियारहरू लगे । त्‍यसपछि उनीहरूले पलिश्तीहरूको देशका चारैतिर आफ्ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए ।10 उनीहरूले तिनका हतियारहरू आफ्ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिँ दागोनको मन्‍दिरमा बाँधे ।11 जब याबेश-गिलादमा भएका सबै जनाले पलिश्तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,12 तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्याए । तिनीहरूका हड्‌डीहरू त्‍यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे ।13 यसरी परमप्रभुप्रतिको विश्‍वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए ।14 तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्पनुभयो ।