15
इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्य गर्न थाले ।2 अजर्याहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थियो, र उनी यरूशलेमकी थिइन् ।3 आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे ठीक थियो, तिनले त्यही गरे ।4 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।5 परमप्रभुले राजालाई प्रहार गर्नुभयो जसले गर्दा आफ्नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए र बेग्लै घरमा बसे । राजाका छोरा योतामले राजमहलको रेखदेख गरे र देशमा मानिसहरूमाथि राज्य गरे ।6 अजर्याह, तिनले गरेका सबै कामको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?7 यसरी अजर्याह आफ्ना पुर्खाहरूसित सुते । तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा योताम राजा भए ।8 यहूदाका राजा अजर्याहको अठतीसौँ वर्षमा यारोबामका छोरा जकरियाले सामरियामा बसेर इस्राएलमाथि छ महिना राज्य गरे ।9 आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।10 याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे, तिनलाई इब्लममा आक्रमण गरे र मारे । त्यसपछि तिनको ठाउँमा आफू राजा भए ।11 जकरियाका बारेमा भएका अरू सबैकुरा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।12 परमप्रभुले येहूसँग यसो भनेर बोल्नुभएको उहाँको वचन यही थियो, “तेरा सन्तानहरू इस्राएलको राजगद्धीमा चौथो पुस्तासम्म बस्नेछन् ।” त्यस्तै हुन आयो ।13 यहूदाका राजा अजर्याहको उनन्चालीसौँ वर्षमा याबेशका छोरा शल्लूमले राज्य गर्न थाले, र तिनले सामरियामा एक महिना मात्र राज्य गरे ।14 गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले । सामरियामा तिनले याबेशका छोरा शल्लूमलाई आक्रमण गरे । तिनले उनलाई मारे र उनको ठाउँमा आफू राजा भए ।15 शल्लूमका बारेमा भएका अरू कुरा र तिनले गरेका षड्यन्त्रको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।16 त्यसपछि मनहेमले तिफसा र तिर्साका सिमानाहरूमा भएका सबैलाई आक्रमण गरे, किनकि तिनीहरूले उनका लागि सहर खुला गरेनन् । त्यसैले तिनले त्यसलाई आक्रमण गरे र त्यस गाउँमा भएका सबै गर्भवती स्त्रीहरूका पेट चिरे ।17 यहूदाका राजा अजर्याहको उनन्चालीसौँ वर्षमा गदीका छोरा मनहेमले इस्राएलमा राज्य सुरु गरे । तिनले सामरियामा दश वर्ष राज्य गरे ।18 परमप्रभुको दृष्टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।19 तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्नो हातमा सुदृढ पार्नलाई पूलले आफूलाई सहयोग गरून् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए ।20 अश्शूरका राजालाई मनहेमले तिर्नुपर्ने पैसा तिनले इस्राएलबाट जबरजस्ती उठाउनका लागि हरेक धनी मानिसले पचास शेकेल चाँदी तिनलाई तिर्नुपर्ने आवश्यकता भयो । त्यसैले अश्शूरका राजा फर्केर गए र त्यस देशमा बसेनन् ।21 मनहेमको सम्बन्धमा र तिनले गरेका सबै कामको बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?22 यसरी मनहेम आफ्ना पुर्खाहरूसित सुते, र तिनका छोरा पकहीया तिनको ठाउँमा राजा भए ।23 यहूदाका राजा अजर्याहको पन्ध्रौँ वर्षमा मनहेमका छोरा पकहीयाले सामरियामा बसेर इस्राएलमा राज्य सुरु गरे । तिनले दुई वर्ष राज्य गरे ।24 परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन् ।25 पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे । पेकहले गिलादका पचास जना मानिसहरू आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे । पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए ।26 पकहीया, तिनले गरेका कामका बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।27 यहूदाका राजा अजर्याहको बाउन्नौँ वर्षमा रमल्याहका छोरा पेकहले सामरियामा बसेर इस्राएलमाथि राज्य सुरु गरे । तिनले बीस वर्ष राज्य गरे ।28 परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए, र तिनले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर, गिलाद, गालील र नप्तालीका सबै भूमि लिए । तिनले मानिसहरूलाई बन्दी बनाएर अश्शूर देशमा लगे ।30 त्यसैले एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे । तिनले उनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि उज्जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनको ठाउँमा आफू राजा भए ।31 पेकहका सम्बन्धमा भएका अरू कुराहरू अनि तिनले गरेका सबै कामको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।32 इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्य सुरु गरे ।33 तिनले राज्य गर्न सुरु गर्दा तिनी पच्चीस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।34 परमप्रभुको दृष्टिमा जे ठीक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे ।35 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले । योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे ।36 योतामको सम्बन्धमा भएका अरू कुराहरू र तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?37 ती दिनमा परमप्रभुले यहूदाको विरुद्धमा अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई पठाउन सुरु गर्नुभयो ।38 योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।