12
येहूको सातौँ वर्षमा योआशले राज्य गर्न थाले । तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ सिब्या थियो, जो बेर्शेबाकी थिइन् ।2 योआशले सधैँ परमप्रभुको दृष्टिमा जे ठीक छ, त्यही गरे किनकि यहोयादा पूजाहारीले तिनलाई सल्लाह दिने गर्थे ।3 तर डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलिदान चढाए र धूप बाले ।4 योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरभित्र पवित्र भेटीहरूको रूपमा ल्याइएका सबै रुपियाँ-पैसा अर्थात् जनगणनामा जम्मा गरिएको रकम वा व्यक्तिगत भाकलबाट प्राप्त गरिएको रकम वा परमप्रभुद्वारा मानिसहरूका आ-आफ्ना हृदयमा प्रेरित भई तिनीहरूद्वारा ल्याइएको रकम जम्मा गर,5 पूजाहारीहरूले कुनै एक जना कोषाध्यक्षबाट रकम लिऊन् र मन्दिरमा भएको कुनै पनि क्षतिको मर्मत गरून् ।6 तर राजा योआशको तेइसौँ वर्षसम्म पनि पूजाहारीहरूले मन्दिरमा केही पनि मर्मत गरेका थिएनन् ।7 तब राजा योआशले यहोयादा पूजाहारी र अन्य पूजाहारीहरूलाई बोलाई तिनीहरूलाई भने, “किन तिमीहरूले मन्दिरमा केही पनि मर्मत गरेका छैनौ ? अबदेखि तिमीहरूका कर उठाउनेहरूबाट रकम नउठाउनू, तर मन्दिरको मर्मतको लागि जे-जेति जम्मा भएका छन्, ती लिएर मर्मत गर्न सक्नेहरूलाई दिनू ।8 त्यसैले अब मानिसहरूबाट रुपियाँ-पैसा नलिने र पूजाहारीहरू आफैले मन्दिरको मर्मत नगर्ने कुरामा तिनीहरू सहमत भए ।9 बरु, यहोयादा पूजाहारीले एउटा सन्दूक लिएर त्यसमा प्वाल पारे, अनि यसलाई परमप्रभुको मन्दिरभित्र प्रवेश गर्ने दाहिनेपट्टि वेदीको छेउमा राखे । मन्दिरको प्रवेशद्वारको पहरा दिने पूजाहारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हाल्थे ।10 जब सन्दूकमा धेरै रकम जम्मा भएको तिनीहरूले देख्थे, राजाका सचिव र प्रधान पूजाहारी आउँथे र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा थैलाहरूमा हाल्थे र त्यसपछि गणना गर्थे ।11 तिनीहरूले उक्त रकम हिसाब गरेपछि परमप्रभुको मन्दिरको रेखदेख गर्नेहरूका हातमा दिन्थे । तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्ने सिकर्मीहरू र निर्माणकर्ताहरू,12 अनि डकर्मीहरू र ढुङ्गा काट्नेहरूलाई तिर्नलाई, परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाइएका ढुङ्गाहरू किन्नलाई र मन्दिरको पुनर्निर्माणको लागि आवश्यक सबै खर्च गर्नलाई त्यो लिएर तिर्थे ।13 तर परमप्रभुको मन्दिरभित्र ल्याइएको रकम चाँदीको कचौरा, सामदानका चिम्टाहरू, बाटाहरू, तुरहीहरू वा सुनचाँदीका सजावटका सामानहरूका लागि खर्च गरिएन ।14 तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए ।15 यसबाहेक, तिनीहरूले काम गर्नेहरूका निम्ति मुख्य कामदारहरूलाई दिएका रुपियाँ-पैसाको हिसाब आवश्यक थिएन किनकि यी मानिसहरू इमानदार थिए ।16 तर दोष बलि र पाप बलिको निम्ति ल्याइने रुपियाँ-पैसा भने परमप्रभुको मन्दिरमा ल्याइएन किनकि त्यो पूजाहारीहरूको थियो ।17 त्यसपछि अरामका राजा हजाएलले गातको विरुद्धमा आक्रमण गरे र त्यसलाई लिए । त्यसपछि हजाएलले यरूशलेमलाई आक्रमण गर्न फर्के ।18 यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याह र तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर र राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए र ती अरामका राजा हजाएललाई पठाइदिए । तब हजाएल यरूशलेमबाट गए ।19 योआश, तिनले गरेका अरू कामहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?20 तिनका सेवकहरू खडा भए र तिनीहरूले मिलेर षड्यन्त्र गरे । तिनीहरूले योआशलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा आक्रमण गरे ।21 तिनका सेवकहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबादले तिनलाई आक्रमण गरे, अनि तिनी मरे । तिनीहरूले योआशलाई दाऊदको सहरमा तिनका पुर्खाहरूसित गाडे, र तिनको ठाउँमा तिनका छोरा अमस्याह राजा भए ।