11
अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजघरानाका बालबालिकालाई मारिन् ।2 तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।3 अतल्याहले देशमा राज्य गर्दा परमप्रभुको मन्दिरमा छ वर्षसम्म उसलाई आफ्नो धाईसँगै लुकाइयो ।4 सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौँ करीहरू तथा पहरेदारहरूका कप्तानहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।5 तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “तिमीहरूले यसो गर्नुपर्छ । तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ,6 र एक-तिहाइचाहिँ सुर ढोकामा बस्नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्नेछौ ।7 शबाथमा सेवा नगर्ने अन्य दुई वटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।8 हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिँड्नुपर्छ ।9 त्यसैले यहोयादा पूजाहारीले आज्ञा गरेअनुसार सयौँ दलका कप्तानहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पूजाहारीकहाँ आए ।10 तब यहोयादा पूजाहारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कप्तानहरूलाई दिए ।11 मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षकहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजाको वरिपरि रहे ।12 तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई शिरपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्ना ताली बजाए र भने, “राजा दीर्घायु रहून् !13 जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्ला सुनिन् , तब तिनी परमप्रभुको मन्दिरमा मानिसहरूकहाँ आइन् ।14 तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्तानहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्ना लुगा च्यातिन् र चिच्च्याइन्, “धोका ! धोका !15 तब यहोयादा पूजाहारीले सयौँ कप्तानहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बीचमा राख । तिनको पछि लाग्ने जोसुकैलाई तरवारले मार ।” किनकि पूजाहारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।16 त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।17 तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि मानिसहरूको बीचमा, अनि राजा र मानिसहरूको बीचमा एउटा करार बाँधे ।18 त्यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए । तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तिहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्ने बालको पूजाहारी मत्तानलाई मारे । तब यहोयादा पूजाहारीले परमप्रभुको मन्दिरमा पहरेदारहरू नियुक्त गरे ।19 यहोयादाले आफूसित सयौँ करीहरू तथा पहरेदारहरूका कप्तानहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरेदारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।20 त्यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो ।21 योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।