20
अरामका राजा बेन-हददले आफ्ना सबै सेनालाई जम्मा गरे । तिनीसित बत्तीस स-साना राजा, घोडाहरू र रथहरू थिए । तिनी माथि उक्लेर सामरियालाई घेरा हाली यसको विरुद्धमा लडे ।2 तिनले इस्राएलका राजा आहाबको सहरमा सन्‍देशवाकहरू पठाएर भने, “बेन-हदद यसो भन्‍नुहुन्‍छ,3 ‘तिम्रा सुन र चाँदी मेरा हुन् । साथै, तिम्रा सबै भन्‍दा राम्रा-राम्रा पत्‍नीहरू र बालबच्‍चा मेरै हुन् ।’ ।4 इस्राएलका राजाले भने, “हे मेरा मालिक राजा, तपाईंले भन्‍नुभएझैँ म र मेरा सबै तपाईंकै हुन् ।5 सन्‍देशवाकहरू फर्केर आएर भने, “बेन-हदद यसो भन्‍नुहुन्‍छ, ‘तपाईंले तपाईंका चाँदी, तपाईंका सुन, तपाईंका पत्‍नीहरू र बालबच्‍चा मलाई दिनुपर्छ भनी मैले समाचार पठाएँ ।6 तर म भोलि यसै बेलातिर मेरा दासहरूलाई पठाउनेछु, र तिनीहरूले तपाईंको घर र तपाईंका अधिकारीहरूका घरहरू खोजतलास गर्ने छन् । तिनीहरूलाई इच्‍छा लागेअनुसार तिनीहरूले आफ्ना हातले ती ल्याउनेछन्’ ।7 तब इस्राएलका राजाले देशका धर्म-गुरुहरूलाई जम्मा गरी भने, “यी मानिसले त सङ्‌कष्‍ट ल्याउन खोज्दै छन् भनी ख्याल गर्नुहोस् । मेरा पत्‍नीहरू, बालबच्‍चा, चाँदी र सुन लैजान तिनले मकहाँ समाचार पठाएका छन्, तर मैले इन्कार गरिदिएको छु ।8 सारा धर्म-गुरु र मानिसहरूले आहाबलाई भने, “तिनको कुरा नसुन्‍नुहोस्, वा तिनको आज्ञामा सहमति नजनाउनुहोस् ।9 त्‍यसैले आहाबले बेन-हददका सन्‍देशवाहकरूलाई भने, “मेरा मालिक राजालाई भनिदेऊ, ‘तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्‍नुभएको हरेक कुरामा म सहमत हुन्‍छु, तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ’ ।” त्‍यसैले सन्‍देशवाहकरू त्‍यहाँबाट प्रस्थान गरे र बेन-हददको निम्ति यो जवाफ लिएर गए ।10 तब बेन-हददले आहाबलाई जवाफ पठाए, “सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्‍यस्तै वा त्‍यो भन्‍दा कठोर व्यवहार गरून् ।11 इस्राएलका राजाले जवाफ दिए, “बेन-हददलाई भन्, ‘भर्खरै कवच भिर्ने मानिसले त्‍यो फुकाल्ने मानिसले झैँ घमण्ड गर्नु हुँदैन’ ।12 बेन-हदद र तिनी मुनिका राजाहरूले तिनीहरूका पालहरूमा मद्य पिइरहँदा तिनले यो समाचार सुने । बेन-हददले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “युद्धको लागि पङ्‌क्तिबद्ध होओ ।” त्‍यसैले तिनीहरू त्‍यस सहरलाई आक्रमण गर्न तयार भए ।13 तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्‍नुहुन्‍छ, ‘के तैँले यो विशाल सेनालाई देख्दै छस् ? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिनेछु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस्’ ।14 आहाबले जवाफ दिए, “कोद्वारा ?” परमप्रभुले जवाफ दिनुभयो, “जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूद्वारा ।” तब आहाबले भने, “कसले युद्धको थालनी गर्नेछ ?” परमप्रभुले जवाफ दिनुभयो, “तैँले ।15 तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए । तिनीहरू दुई सय बत्तीस जना थिए । त्‍यसपछि तिनले इस्राएलका सबै सिपाहीहरूलाई जम्मा गरे । तिनीहरू सात हजार थिए ।16 तिनीहरू मध्‍य दिनमा बाहिर निस्के । बेन-हदद र तिनको समर्थन गर्ने तिनीमुनिका बत्तीस जना राजा पालमा मद्य पिएर मातिरहेका थिए ।17 पहिले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू अगाडि बढे । बेन-हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने, “सामरियाबाट मानिसहरू आउँदै छन् ।18 बेन-हददले भने, “तिनीहरू मेलमिलाप वा युद्ध जेसुकैको लागि आएको भए तापनि तिनीहरूलाई जिउँदै ल्याओ ।19 त्‍यसैले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू सहरबाट बाहिर गए, र सेना तिनीहरूको पछिपछि लागे ।20 हरेकले आ-आफ्नो प्रतिद्वन्‍द्वीलाई मार्‍यो । अरामीहरू भागे, र इस्राएलीहरूले तिनीहरूलाई खेदे । अरामका राजा बेन-हदद केही घोडचढीहरूसँगै घोडामा चढेर उम्के ।21 तब इस्राएलका राजा बाहिर निस्केर घोडाहरू र रथहरूलाई आक्रमण गरे, र अरामीहरूको ठूलो संहार गरे ।22 त्‍यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “जानुहोस्, र आफैलाई बलियो पार्नुहोस्, अनि तपाईंले जे गर्दै हुनुहुन्‍छ त्‍यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउनेछन् ।23 अरामका राजाका अधिकारीहरूले तिनलाई भने, “तिनीहरूका ईश्‍वर त पहाडहरूका ईश्‍वर रहेछन् । त्‍यसकारण तिनीहरू हामी भन्‍दा शक्तिशाली भएका हुन् । तर अब तिनीहरूको विरुद्धमा मैदानमा लडौँ, र निश्‍चय नै हामी तिनीहरू भन्‍दा शक्तिशाली हुनेछौँ ।24 त्‍यसैले तपाईंले यसो गर्नुहोस्, सबै राजालाई तिनीहरूका पदबाट हटाई तिनीहरूको सट्टामा सेनाका नायकहरूलाई राख्‍नुहोस् ।25 तपाईंले गुमाउनुभएका सेना जस्‍तै सेना तयार पार्नुहोस् । घोडाको लागि घोडा र रथको लागि रथ तयार पार्नुहोस् । यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ । तब निश्‍चय नै हामी तिनीहरू भन्‍दा शक्तिशाली हुनेछौँ ।” त्‍यसैले बेन-हददले तिनीहरूको कुरा सुनेर त्‍यसैअनुसार गरे ।26 नयाँ वर्षको थालनीपछि बेन-हददले अरामीहरूलाई जम्मा गरी इस्राएलको विरुद्धमा लड्न अपेकमा गए ।27 इस्राएलीहरू पनि भेला भए, र अरामीहरूको विरुद्धमा लड्न तिनीहरूलाई खानेकुरा दिइयो । इस्राएलीहरूले तिनीहरूको सामुन्‍ने छाउनी हाले, र तिनीहरू बाख्राका दुई वटा स-साना बगाल जस्‍तै थिए, जब कि अरामीहरूले पूरै मैदानलाई ढाकेका थिए ।28 तब एक जना परमेश्‍वरका जन नजिक आई इस्राएलका राजालाई भने, “परमप्रभु भन्‍नुहुन्‍छ, ‘अरामीहरूले परमप्रभु पहाडहरूका ईश्‍वर हुनुहुँदोरहेछ, उपत्‍यकाको ईश्‍वर होइन रहेछ भनी भनेकाले म यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिनेछु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस्’ ।29 त्‍यसैले सेनाहरूले सात दिनसम्म एक-अर्काको सामुन्‍ने छाउनी हाले । अनि सातौँ दिनमा युद्ध सुरु भयो । इस्राएलका मानिसहरूले एकै दिनमा एक लाख पैदल अरामीलाई मारे ।30 बाँकी रहेकाहरू अपेक सहरभित्र भागे, र सत्ताइस हजारमाथि पर्खाल ढलेर बज्रियो । बेन-हदद भागेर सहरको भित्री कोठामा गए ।31 बेन-हददका अधिकारीहरूले तिनलाई भने, “अब हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ । हाम्रा कम्मरको वरिपरि भाङ्‌ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ । शायद तिनले तपाईंको ज्‍यान जोगाउनेछन् ।32 त्‍यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्‌ग्रा लगाए, र शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने, “तपाईंका दास बेन-हददले भन्‍नुभएको छ, ‘कृपया, मलाई बाँच्‍न दिनुहोस्’ ।” आहाबले भने, “के तिनी अझै जिउँदै छन् ? तिनी त मेरा भाइ हुन् ।33 अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्‍ने अपेक्षा गर्दै थिए । त्‍यसैले तिनीहरूले झट्टै उत्तर दिए, “ज्‍यू, हजूरका दास बेन-हदद जीवितै हुनुहुन्‍छ ।” तब बेन-हददले भने, “गएर तिनलाई ल्याओ ।” तब बेन-हदद तिनीकहाँ आए, र आहाबले तिनलाई आफ्नो रथमा चढाए ।34 बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिनेछु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्‍नुहुन्‍छ ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिनेछु ।” त्‍यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए ।35 अगमवक्ताका छोराहरूमध्‍ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने, “मलाई हिर्काऊ ।” तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे ।36 तब अगमवक्ताले आफ्ना मित्र अगमवक्तालाई भने, “तिमीले परमप्रभुको कुरा नमानेकाले तिमी मबाट जाने बित्तिकै एउटा सिंहले तिमीलाई मार्नेछ ।” ती मानिस प्रस्थान गर्ने बित्तिकै एउटा सिंह आएर तिनलाई मारिदियो ।37 तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने, “मलाई हिर्काऊ ।38 त्‍यसैले ती मानिसले तिनलाई हिर्काई घाइते बनाए । तब अगमवक्ता प्रस्थान गरे र बाटोनेर राजाको प्रतीक्षा गरे । तिनले आँखामा पट्टी बाँधेर गुप्‍त भेष बनाएका थिए ।39 राजा त्‍यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्‍यो, ‘यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्नेछ वा तिमीले करिब चौँतीस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्‍छ ।’40 तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्‍यो मानिस भाग्यो ।” तब इस्राएलका राजाले तिनलाई भने, “तेरो दण्ड यही हुनेछ जुन तँ आफैले निधो गरिस् ।41 तब ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट पट्टी निकाले, र तिनी त एक अगमवक्ता रहेछन् भनी इस्राएलका राजाले चिने ।42 अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्‍नुहुन्‍छ, ‘मैले मृत्‍युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्‍यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुनेछन्’ ।43 त्‍यसैले इस्राएलका राजा उदास भए, र रिसाएर सामरियामा आफ्नो महलमा आइपुगे ।