18
धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउनेछु ।2 आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो ।3 आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए । ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे ।4 किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए ।5 आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ । शायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउनेछैनौँ ।6 त्यसैले निरीक्षण र पानीको खोजीको लागि तिनीहरूले देश विभाजन गरे । आहाब एक्लै एकातिर गए, र ओबदिया अर्कोतिर गए ।7 ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे । ओबदियाले तिनलाई चिनिहाले र भुइँतिर शिर निहुराए । तिनले भने, “के तपाईं मेरा मालिक एलिया हुनुहुन्न र ?8 एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । ‘हेर, एलिया यहीँ छन्’ भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।9 ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ ?10 परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन् । ‘एलिया यहाँ छैनन्’ भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन् ।11 तथापि अहिले तपाईं भन्नुहुन्छ, ‘जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।’12 म यहाँबाट जाने बित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुनेछ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्नेछन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।13 हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र ?14 अहिले तपाईं मलाई भन्नुहुन्छ, ‘जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।’ तिनले मलाई मार्नेछन् ।15 तब एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभु जसको अगि म खडा छु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, कि निश्चय नै म आजै आहाबकहाँ देखा पर्नेछु ।16 त्यसैले ओबदिया आहाबलाई भेट्न गए, र एलियाले भनेका कुरा तिनलाई बताए ।17 तब राजा एलियालाई भेट्न गए । जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ !18 एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ ।19 अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् । ईजेबेलको टेबिलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस् ।20 त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए ।21 एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बदलीरहन्छौ ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग । तर बाल परमेश्वर हो भने त्यसको पछि लाग ।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन् ।22 तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एक्लै छाडिएको छु, तर बालका अगमवक्ताहरू 450 जना छन् ।23 तिनीहरूले हामीलाई दुई वटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्नेछु, र त्यसलाई दाउरामाथि राख्नेछु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ ।24 तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्नेछु । जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुनेछ ।” सबै मानिसले भने, “यो असल कुरो हो ।25 त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ । त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ ।26 तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस् ।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो । तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे ।27 मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ । त्यो पो देवता हो ! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला । त्यसैले उसलाई ब्युँझाइनुपर्छ ।28 त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे ।29 मध्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो । तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन ।30 तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ ।” सबै मानिस तिनको नजिक आए । त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे ।31 एलियाले बाह्र वटा ढुङ्गा लिए । प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो । यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुनेछ ।32 ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बीउ जाने ठूलो खाडल खने ।33 तिनले आगो लगाउन दाउराको बन्दोबस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।34 त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर ।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे । फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर ।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे ।35 पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो ।36 साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् ।37 हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका हृदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।38 तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्यो, र खाडलको पानी पनि सुकाइदियो ।39 जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ !40 त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र । एउटै पनि भाग्न नपाओस् ।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे ।41 एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठूलो झरीको आवाज आउँदै छ ।42 त्यसैले आहाब खानपान गर्न र पिउनलाई गए । तब एलिया कर्मेल डाँडाको टाकुरामा उक्ले, भुइँमा आफ्नो शिर झुकाई आफ्ना घुँडाहरूका बीचमा आफ्नो मुहार राखे ।43 तिनले आफ्नो नोकरलाई भने, “गएर समुद्रतिर हेर् ।” तिनको नोकर गएर हेर्यो र फर्केर आई भन्यो, “त्यहाँ केही छैन ।” त्यसैले एलियाले भने, “सातपल्ट गएर हेर् ।44 सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हात जस्तै समुद्रबाट सानो बादल उठिरहेको छ ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, ‘आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्नेछ’ ।45 केही क्षणमा नै बादल कालो भयो र हुरी चल्यो, अनि त्यहाँ ठूलो झरी पर्यो । आहाब रथमा चढेर यिजरेलमा गए,46 तर परमप्रभुको हात एलियामाथि थियो । तिनले आफ्नो खास्टो पटुकामा कसे, र यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे ।