16
बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो,2 “मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रीस उठाएको छस् ।3 हेर्, म बाशा र त्‍यसको घरानालाई पूर्ण रूपमा निमिट्‌यान्‍न पारिदिनेछु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवार जस्‍तै तुल्याउनेछु ।4 बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खानेछन्, र खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्‌गीहरूले खानेछन् ।5 के बाशाले गरेका अरू कामहरू र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?6 बाशा आफ्ना पित्रहरूसित सुत्‍न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए ।7 यारोबामको घरानाले गरे जस्‍तै बाशाले परमप्रभुको दृष्‍टिमा सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रीस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो ।8 यहूदाका राजा आसाको छब्‍बीसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले । तिनले दुई वर्ष राज्‍य गरे ।9 तिनको दास जिम्री आधा रथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्‌यन्‍त्र गरे । त्‍यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए ।10 जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे । यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए ।11 जब जिम्री आफ्नो सिंहासनमा बसी शासन गर्न थाले, तिनले बाशाका सबै घरानालाई मारे । तिनले बाशाका आफन्‍त वा मित्रहरूमध्‍ये एउटै पनि पुरुषलाई जिउँदो छाडेनन् ।12 यसरी अगमवक्ता येहूद्वारा परमप्रभुले बाशाको विरुद्धमा बोल्नुभएको वचनमुताबिक जिम्रीले बाशाका सारा घरानालाई नष्‍ट गरिदिए ।13 बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लगाएका सबै पापको कारण अनि तिनीहरूका मूर्तिहरूले इस्राएलका परमेश्‍वर, परमप्रभुलाई रीस उठाएको कारण यस्तो हुन आएको हो ।14 के एलाहले गरेका अरू कामहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?15 यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा केवल सात दिन शासन गरे ।16 त्‍यस बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए । छाउनीका सेनाले यो सुने, “जिम्रीले षड्‌यन्‍त्र गरी राजालाई मारेका छन् ।” त्‍यसैले त्‍यसै दिन छाउनीमा सारा इस्राएलले सेनापति ओम्रीलाई इस्राएका राजा घोषणा गरे ।17 ओम्री गिब्बतोनबाट गए र तिनीसँगै सारा इस्राएल पनि गए, अनि तिनीहरूले तिर्सालाई घेरा हाले ।18 त्‍यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे ।19 तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्‍यही गरेर यारोबामको चालमा र तिनले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापमा हिँडेर ती पाप गरेकाले यसो हुन आएको हो ।20 के जिम्रीका अरू कामहरू र तिनले गरेको विद्रोहको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?21 तब इस्राएलका मानिसहरू दुई भागमा विभाजन भए । मानिसहरूमध्‍ये आधाले गीनतका छोरा तिब्‍नीलाई राजा बनाउन तिनलाई पछ्याए भने बाँकी आधाले चाहिँ ओम्रीलाई पछ्याए ।22 तर ओम्रीलाई पछ्याउने मानिसहरू गीनतका छोरा तिब्‍नीलाई पछ्याउने मानिसहरू भन्‍दा बढी शक्तिशाली थिए । त्‍यसैले तिब्‍नी मरे, र ओम्री राजा बने ।23 यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्रीले सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले जम्माजम्मी बाह्र वर्ष राज्‍य गरे । तिनले छ वर्षचाहिँ तिर्साबाट राज्‍य गरे ।24 तिनले करिब सत्तरी किलोग्राम चाँदीमा शेमेरको हातबाट सामरियाको डाँडा किने । तिनले त्‍यसमा एउटा सहर बनाए, र त्‍यस डाँडाको प्रथम मालिक शेमेरको नाउँमा त्‍यसको नाउँ सामरिया राखे ।25 ओम्रीले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्‍यही गरे, अनि तिनी भन्‍दा अगिका सबैले भन्‍दा तिनी अझै दुष्‍टतापूर्वक हिँडे ।26 किनकि तिनी नबातका छोरा यारोबामका सबै चाल र तिनले तिनीहरूका बेकम्मा मूर्तिहरूद्वारा इस्राएललाई गर्न लगाएका पापमा हिँडी तिनले इस्राएलका परमेश्‍वर, परमप्रभुलाई रीस उठाए ।27 के ओम्रीले गरेका अरू कामहरू र तिनले देखाएको शक्तिको विषयमा इस्राएलका राजाहरूको इतिहासकको पुस्तकमा लेखिएका छैनन् र ?28 यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्‍यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए ।29 यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।30 ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्‍यही गरे । तिनले तिनी भन्‍दा अगिका सबैले भन्‍दा अझै खराब गरे ।31 आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्‍यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पूजा गरे र त्‍यसको सामु निहुरे ।32 तिनले सामरियामा निर्माण गरेका बालको मन्‍दिरमा बालको निम्ति एउटा वेदी बनाए ।33 आहाबले अशेरा देवीको मूर्ति खडा गरे । आहाबले तिनी भन्‍दा अगिका सबै राजाले भन्‍दा बढी इस्राएलका परमेश्‍वर, परमप्रभुलाई रीस उठाए ।34 आहाबको शासनकालमा बेथेलका हीएलले यरीहोको पुनर्निर्माण गरे । हीएलले सहरको जग बसाल्दा तिनको जेठो छोरो अबीरामको मृत्‍यु भयो । तिनले सहरका मूल ढोकाहरू बनाइरहँदा तिनको कान्‍छो छोरो सगूबको मृत्‍यु भयो । यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा बोल्नुभएको वचन पूरा भयो ।