14
त्‍यस बेला यारोबामको छोरो अबिया अत्‍यन्‍तै बिरामी पर्‍यो ।2 यारोबामले आफ्नी पत्‍नीलाई भने, “उठ र तिमी मेरी पत्‍नी हौ भनी नचिन्‍नलाई आफ्नो भेष बदली गर । अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्‍यहीँ छन् । यी मानिसहरूमाथि म नै राजा हुने थिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए ।3 आफ्नो साथमा दश वटा रोटी, केही फुरौला र एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ । बालकलाई के हुनेछ भनी तिनले तिमीलाई बताउनेछन् ।4 यारोबामकी पत्‍नीले त्‍यसै गरिन् । उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन् । अहियाहले देख्‍न सक्दैनथे । तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्‍योति गुमाएका थिए ।5 परमप्रभुले अहियाहलाई भन्‍नुभयो, “हेर्, यारोबामकी पत्‍नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्‍यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्‍यो अर्कै स्‍त्री भएझैँ त्‍यसले नाटक गर्छे ।6 उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने, र भने, “हे यारोबामकी पत्‍नी, भित्र आऊ । किन तिमी अर्कै स्‍त्री भएझैँ नाटक गर्छ्यौ ? म खराब समाचारसहित तिमीकहाँ पठाइएको छु ।7 गएर यारोबामलाई भन कि इस्राएलका परमेश्‍वर, परमप्रभु भन्‍नुहुन्‍छ, ‘मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बीचबाट उठाएँ ।8 मेरो दृष्‍टिमा जे ठीक छ त्‍यही गर्न अनि मेरा आज्ञाहरू पालन गर्न र सारा हृदयले मेरो पछि लाग्‍ने मेरा दास दाऊद जस्‍तै तँ नभए तापनि मैले दाऊदको घरानाबाट राज्‍य टुक्र्याई त्‍यो तँलाई दिएँ ।9 तर तैँले तँ भन्‍दा अगिका सबैले भन्‍दा दुष्‍ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रीस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् ।10 त्‍यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउनेछु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिनेछु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिनेछु ।11 तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्‍यसलाई कुकुरहरूले खानेछन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्‌गीहरूले खानेछन् किनकि म परमप्रभुले यसो भनेको छु ।’12 त्‍यसैले हे यारोबामकी पत्‍नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्नेछ ।13 सारा इस्राएलले त्‍यसको निम्ति शोक गर्नेछन् र त्‍यसलाई गाड्नेछन् । यारोबामको परिवारबाट चिहानमा जाने त्‍यही मात्र हुनेछ किनकि यारोबामको घरबाट त्‍यसले मात्र इस्राएलका परमेश्‍वर परमप्रभुको दृष्‍टिमा निगाह पायो ।14 साथै, त्‍यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुनेछ जसले यारोबामको परिवारलाई खतम पारिदिनेछ । आज नै त्‍यही दिन हो ।15 किनकि पानीमा निगालो हल्लिएझैँ परमप्रभुले इस्राएललाई हल्लाउनुहुनेछ, र उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट जरैदेखि उखेलिदिनुहुनेछ । उहाँले तिनीहरूलाई यूफ्रेटिस नदी भन्‍दा पारि तितरबितर पारिदिनुहुनेछ किनकि तिनीहरूले अशेराका खम्बाहरू बनाई परमप्रभुलाई रीस उठाएका छन् ।16 यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्‍यागिदिनुहुनेछ ।17 त्‍यसैले यारोबामकी पत्‍नी उठिन् र बाटो लागिन् अनि तिर्सामा आइन् । उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्‍यो ।18 सारा इस्राएलले त्‍यसलाई गाडे, र त्‍यसको निम्ति शोक गरे जस्‍तो परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्‍नुभएको थियो ।19 यारोबामका अन्‍य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे र शासन गरे भन्‍ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।20 यारोबामले बाइस वर्ष शासन गरे, र त्‍यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्‍न गए, अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए ।21 सोलोमनका छोरा रहबामले यहूदामा शासन गर्दै थिए । रहबाम राजा हुँदा तिनी एकचालीस वर्षका थिए । तिनले परमप्रभुले आफ्नो नाउँ राख्‍न इस्राएलका सबै कुलबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष शासन गरे । तिनकी आमाको नाउँ नामा थियो जो एक अम्मोनी स्‍त्री थिइन् ।22 यहूदाले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्‍यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पाप भन्‍दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए ।23 किनकि तिनीहरूले पनि आफ्ना लागि प्रत्‍येक उच्‍च स्थान र हरियो रूखमुनि डाँडाका ठाउँहरू, ढुङ्‌गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए ।24 त्‍यस देशमा झूटा धर्मसम्बन्धी वेश्याहरू पनि थिए । परमप्रभुले इस्राएलीहरूकै सामुबाट धपाउनुभएका जातिहरूले अभ्यास गरेका घिनलाग्दा कार्यहरू नै तिनीहरूले गरे ।25 राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे ।26 तिनले परमप्रभुको मन्‍दिर र राजाको महलका खजानाहरू लिएर गए । तिनले हरेक कुरो लिएर गए । तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए ।27 राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए, र राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए ।28 राजा परमप्रभुको मन्‍दिरमा प्रवेश गर्दा ती रक्षकहरूले ती ढालहरू बोक्थे । त्‍यसपछि तिनीहरूले ती रक्षक कोठामा ल्याएर राख्‍ने गर्थे ।29 रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?30 रहबाम र यारोबामको बीचमा युद्ध चलिरह्यो ।31 यसरी रहबाम आफ्ना पित्रहरूसित सुत्‍न गए, र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । तिनकी आमाको नाउँ नामा थियो जो अम्मोनी स्‍त्री थिइन् । तिनको ठाउँमा तिनका छोरा अबिया राजा भए ।