18
दाऊदले आफूसँग भएका सिपाहीरूको गन्ती गरे र तिनीहरूमाथि हजारका कप्तानहरू र सयका कप्तानहरू नियुक्त गरे ।2 त्यसपछि दाऊदले एक तिहाइ सिपाहीलाई योआबको अधीनमा, अर्को एक तिहाइलाई सरूयाहका छोरा योआबका भाइ अबीशैको अधीनमा, र अर्को एक तिहाइलाई गित्ती इत्तैको अधीनमा पठाए । राजाले फौजलाई भने, “म आफै पनि तिमीहरूसँग नै जानेछु ।3 तर मानिसहरूले भने, “तपाईं युद्धमा जानु हुँदैन, किनकि भाग्यौँ भने, तिनीहरूले हाम्रो वास्ता गर्नेछैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्ता गर्नेछैनन् । तर तपाईं त हामी जस्ता दश हजार बराबर हुनुहुन्छ ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस् ।4 त्यसैले राजाले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई जे उत्तम लाग्छ म त्यही गर्नेछु ।” जब सबै फौज सय र हजारको सङ्ख्यामा निस्केर गए, तब राजाचाहिँ सहरको ढोकामा खडा भए ।5 राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।” राजाले अब्शालोमको बारेमा कप्तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने ।6 त्यसैले फौज गाउँमा इस्राएलको विरुद्ध लड्न गए । लडाइँ एफ्राइमको जङ्गलमा फैलियो ।7 दाऊदका सिपाहीहरूका सामु त्यहाँ इस्राएलका फौज परास्त भयो । त्यस दिन त्यहाँ यति ठूलो नरसंहार भयो कि बीस हजार मानिसहरू मारिए ।8 लडाइँ सारा गाउँभरि नै फैलियो र तरवारले भन्दा पनि धेरै जङ्गलले नै मानिसहरूलाई नाश पार्यो ।9 अब्शालोमले दाऊदका केही सिपाहीलाई भेटे । अब्शालोम आफ्नो खच्चरमा सवार थिए र त्यो खच्चर बाक्लो हाँगा भएको फलाँटको ठूलो रूखमुनिबाट गयो र तिनको टाउको रूखका हाँगाहरूमा नै अड्कियो । तिनले चढेका खच्चर हिँडिरहँदा तिनीचाहिँ आकाश र जमिनको बीचमा झुण्डिरहे ।10 कसैले यो देख्यो र योआबलाई भन्यो, “हेर्नुहोस्, मैले अब्शालोम फलाँटको रूखमा झुण्डिरहेको देखेँ !11 योआबले अब्शालोमबारे बताउने त्यो मानिसलाई भने, “हेर, तैँले त्यसलाई देखिस् ! तैँले किन त्यसलाई जमिनमा ढालिनस् ? म तँलाई दश शेकेल चाँदी र एउटा पेटी दिने थिएँ ।12 त्यो मानिसले योआबलाई भन्यो, “मैले हजार शेकेल चाँदी पाएको भए पनि म राजाको छोराको विरुद्ध आफ्नो हात उठाउने थिइनँ, किनभने तपाईं, अबीशै र इत्तैलाई राजाले यसो भनेर आज्ञा दिनुभएको कुरा हामी सबैले सुनेका थियौँ, ‘जवान मानिस अब्शालोमलाई कसैले नछोओस् ।’13 मैले झूट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए (र राजाबाट कुनै कुरा लुक्दैन ), तपाईंले मलाई त्याग्नुहुने थियो ।14 तब योआबले भने, “म तेरो लागि पर्खनेछैनँ ।” त्यसैले योआबले आफ्नो हातमा तीन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रूखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए ।15 त्यसपछि योआबको हतियार बोक्ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।16 तब योआबले तुरही फुके र इस्राएललाई खेद्न छोडेर फौज फर्कियो, किनकि योआबले फौजलाई रोके ।17 तिनीहरूले अब्शालोमलाई लिए र तिनलाई जङ्गलको एउटा ठूलो खल्डोमा फालिदिए । सबै इस्राएल हरेक मानिस आफ्नो घरतिर भागेर जाँदा तिनीहरूले अब्शालोमलाई ढुङ्गाको ठूलो थुप्रोमुनि गाडे ।18 अब्शालोम आफू जीवित नै हुँदा राजाको बेँसीमा ठूलो ढुङ्गाको एउटा स्मारक निर्माण गरेका थिए, किनकि तिनले भने, “मेरो नाउँलाई निरन्तरता दिन मेरो कुनै छोरा छैन ।” तिनले स्तम्भलाई आफ्नै नाउँबाट नाम दिए, त्यसैले आजको दिनसम्म पनि त्यसलाई अब्शालोमको स्मारक भनिन्छ ।19 त्यसपछि सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई कसरी उहाँका शत्रुहरूका हातबाट छुटकारा दिनुभएको छ भन्ने शुभखबर लिएर मलाई राजाकहाँ दौडेर जान दिनुहोस् ।20 योआबले तिनलाई भने, “आज तिमी खबर लानेछैनौ । तिमीले यो काम अर्को दिन गर्नुपर्छ । आज तिमीले कुनै समाचार लानेछैनौ किनभने राजाको छोरा मरेको छ ।21 त्यसपछि योआबले कूशीलाई भने, “जा, तैँले जे देखेको छस् त्यो राजालाई भन् ।” कूशीले योआबलाई दण्डवत् गरे र दौडे ।22 तब सादोकका छोरा अहीमासले योआबलाई फेरि पनि भने, “जेसुकै भए पनि, कृपया मलाई दौडेर जान र कूशीको पछि-पछि लाग्न दिनुहोस् ।” योआबले जवाफ दिए, “हे मेरो छोरो, तिमीले यो खबरको निम्ति कुनै इनाम पाउनेछैनौ भन्ने देखेर पनि तिमी किन दौडिन चाहन्छौ ?23 अहीमासले भने, “जेसुकै होस्, म दौडनेछु ।” त्यसैले योआबले तिनलाई जवाफ दिए, “दौड ।” अनि अहीमास मैदानको बाटो हुँदै दौडे र कूशीलाई उछिने ।24 यति बेला दाऊद भित्री र बाहिरी ढोकाको बीचमा बसिरहेका थिए । रक्षा बस्ने मानिस पर्खालको छतमा गए र आफ्ना आँखाले हेरे । जसै तिनले हेरे, एक जना मानिस एक्लै दौडेर नजिक आइरहेको तिनले देखे ।25 रक्षकले ठूलो स्वरले कराए र राजालाई भने । तब राजाले भने, “त्यो एक्लै छ भने, त्यसको मुखमा खबर हुनुपर्छ ।” त्यो धावक नजिक आइपुगे र सहरको नजिकै आए ।26 त्यसपछि ती रक्षकले अर्को मानिस पनि दौडेर आइरहेको देखे र ती रक्षकले ढोकाको पालेलाई भने, “हेर, अर्को मानिस पनि एक्लै दौडेर आइरहेको छ ।” राजाले भने, “त्यसले पनि खबर ल्याउँदै छ ।27 त्यसैले ती रक्षकले भने, “अगिल्लो मानिसको दौडाइ सादोकका छोरा अहीमासको जस्तो छ ।” राजाले भने, “तिनी असल मानिस हुन् र राम्रो खबर लिएर आउँदै छन् ।28 त्यसपछि अहीमासले कराए र राजालाई भने, “सबै ठीक छ ।” तिनले आफ्नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे र भने, “परमप्रभु तपाईंको परमेश्वर धन्यको होऊन् ! मेरो मालिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजूरको हातमा सुम्पनुभएको छ ।29 त्यसैले राजाले जवाफ दिए, “त्यो जवान अब्शालोम ठीकै छ ?” अहीमासले जवाफ दिए, “जब योआबले म महाराजाको सेवकलाई हजूरकहाँ पठाए, तब मैले ठूलो खेलाबैल देखेँ, तर त्यो के हो भनी मलाई थाहा भएन ।30 त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।31 कूशी पनि तुरुन्तै आइपुगे र भने, “मेरो मालिक महाराजालाई असल खबर छ, किनकि परमप्रभुले आज तपाईंको विरुद्ध खडा हुने सबैलाई बदला लिनुभएको छ ।32 त्यसपछि राजाले कूशीलाई भने, “त्यो जवान अब्शालोम ठीकै छ ?” ती कूशीले जवाफ दिए, “मेरो मालिक महाराजाका शत्रुहरू र हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ ।33 अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिँडे, तिनले विलाप गरे, “मेरो छोरा अब्शालोम, मेरो छोरा, मेरो छोरा अब्शालोम ! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, मेरो छोरा, मेरो छोरा !”