17
त्‍यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्‍नेछु र म उठ्नेछु र दाऊदलाई आज राती नै खेद्‍नेछु ।2 तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्‍नेछु र तिनलाई भयङ्‍कर त्रासमा पार्नेछु । तिनीसँग भएका मानिसहरू भाग्‍नेछन् र म राजालाई मात्र आक्रमण गर्नेछु ।3 दुलही आफ्नो दुलहाकहाँ आए जस्‍तै सबै मानिसलाई म तपाईंकहाँ फर्काएर ल्याउनेछु र सबै मानिस तपाईंको अधीनमा शान्‍तिमा रहनेछन् ।4 अहीतोपेलले भनेको कुरा अब्शालोम र इस्राएलका सबै धर्म-गुरुलाई मन पर्‍यो ।5 त्‍यसपछि अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाऊ र उनले के भन्‍छन् हामी सुनौँ ।6 जब हूशै अब्‍शालोमकहाँ आए, अब्‍शालोमले उनलाई अहीतोपेलले भनेका सबै कुरा बताइदिए र हूशैलाई सोधे, “के हामीले अहीतोपेलले भनेका कुरा गरौँ ? होइन भने, हामीलाई तपाईंको सल्लाह भन्‍नुहोस् ।7 त्‍यसैले हूशैले अब्शालोमलाई भने, “अहीतोपेलले दिएका सल्लाह यस पटक ठीक छैन ।8 हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्‍नुहुन्‍छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तीतो छन्, र तिनीहरू मैदानका बच्‍चा खोसिएका भालुहरू जस्ता छन् । तपाईंको बुबा एक योद्धा हुनुहुन्‍छ । उहाँ आज फौजसँग सुत्‍नुहुनेछैन ।9 हेर्नुहोस्, यति बेला उहाँ शायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको छ । आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्‍ने जोसुकैले भन्‍नेछन्, ‘अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको छ ।’10 त्‍यसपछि सिंहको जस्‍तो हृदय हुने सबै भन्‍दा बहादुर सिपाही पनि भयभीत हुनेछ, किनभने तपाईंको बुबा वीर योद्धा हुनुहुन्‍छ भनी सारा इस्राएलले जान्‍दछ र उहाँसँग भएका मानिसहरू धेरै बलिया छन् ।11 त्‍यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्य हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्‍छु ।12 त्‍यसपछि हामीले उनलाई जहाँ भेट्टाए पनि उनीमाथि जाइलाग्‍नेछौँ र जमिनमा शीत परेझैँ हामीले उनलाई छोप्‍नेछौँ । हामीले उनका मानिसहरू वा उनी स्वयम्‌ एउटालाई पनि जीवित छोड्नेछैनौँ ।13 उनी सहरमा शरण लिन्‍छन् भने, त्‍यस सहरमा सारा इस्राएलले डोरी ल्याउनेछन् र त्‍यहाँ एउटा सानो ढुङ्‌गा पनि नभेटिने गरी त्‍यसलाई हामी घिसारेर नदीमा झार्नेछौँ ।14 अनि अब्‍शालोम र इस्राएलका मानिसहरूले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाह भन्‍दा राम्रो छ ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्‍चय गर्नुभएको थियो ।15 तब हूशैले सादोक र अबियाथार पूजाहारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई यस्तो-यस्तो सल्लाह दिए, तर मैले अरू नै सल्लाह दिएको छु ।16 अब चाँडो जाओ र दाऊदलाई खबर गर । उनलाई भन, ‘आज राती आराबाको जाँघरहरूमा छाउनी नलगाउनुहोस्, तर कुनै पनि उपायले पारि तर्नुहोस्, नत्र राजा अनि उहाँको साथमा भएका सबै मानिस समेत नाश पारिनेछन्’ ।17 यति बेला जोनाथन र अहीमास एन-रोगेलको पानीको मूलमा पर्खिरहेका थिए । तिनीहरूले जान्‍नुपर्ने कुरा एक जना दासी गएर तिनीहरूलाई खबर गर्थिन्, किनकि तिनीहरू सहरभित्र गएर देखिने जोखिममा पर्न सक्दैनथे । जब खबर आउँथ्यो, तब तिनीहरू गएर राजालाई भन्‍थे ।18 तर योपल्‍ट एक जना जवान मानिसले तिनीहरूलाई देख्यो र अब्‍शालोमलाई बतायो । त्‍यसैले जोनाथन र अहीमास तुरुन्‍तै गए र बहूरीममा एक जना मानिसको घरमा आए जसको आँगनमा एउटा इनार थियो, जसभित्र तिनीहरू पसे ।19 ती मानिसकी पत्‍नीले त्‍यो इनारको ढकनी ल्‍याइन् र इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन्, त्‍यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।20 अब्शालोमका मानिसहरू त्‍यो घरकी स्‍त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन् ?” ती स्‍त्रीले भनिन्, “तिनीहरू नदी तरेर गइसके ।” त्‍यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टाउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।21 तिनीहरू गएपछि जोनाथन र अहीमास इनारबाट बाहिर निस्के । उनीहरू दाऊद राजालाई खबर दिन गए । तिनीहरूले उनलाई भने, “उठ्नुहोस् चाँडो नदी तर्नुहोस, किनभने अहीतोपेलले तपाईंको बारेमा यस्तो-यस्तो सल्लाह दिएका छन् ।22 त्‍यसपछि दाऊद र तिनीसँग भएका सबै मानिस उठे र तिनीहरूले यर्दन नदी तरे । बिहान उज्‍यालो हुँदासम्ममा तीमध्‍ये यर्दन तर्न बाँकी कोही पनि थिएन ।23 जब अहीतोपेलले आफ्‍नो सल्लाहको अनुसरण नभएको देखे, उनले आफ्नो गधामा जीन-लगाम कसे र बिदा भए । उनी आफ्नो सहरमा भएको घरमा गए, आफ्ना सबै कुरा मिलाए र आफूलाई झुण्‍ड्‍याए । यसरी उनी मरे र आफ्नै बुबाको चिहानमा गाडिए ।24 त्‍यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहिँ, आफू र आफूसित भएका इस्राएलका सबै मानिसहरूलाई लिएर यर्दन नदी तरे ।25 अब्‍शालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्‍डर बनाएका थिए । अमासा इश्‍माएली येतेरका छोरा थिए, जो अबीगेलसँग सुते जो नाहाशकी छोरी र योआबकी आमा सरूयाहकी बहिनी थिई ।26 तब इस्राएल र अब्‍शालोमले गिलादको जमिनमा छाउनी हाले ।27 जब दाऊद महनोममा आएका थिए, अम्‍मोनीहरूको रब्बाका नाहाशका छोरा शोबी अनि लो-देबारका अम्‍मीएलको छोरा माकीर र रोगलीमबाट आएका गिलादी बर्जिल्लैले28 सुत्‍ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पीठो, भुटेको अन्‍न, सिमी, दाल,29 मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मानिसहरूले खान सकून् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्‍थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”