15
यसपछि यस्तो भयो, अब्शालोमले आफ्नो निम्ति एउटा रथ र घोडाहरू र आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे ।2 अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्थे, “तपाईं कुन सहरबाट आउनुभएको हो ?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।3 त्यसैले अब्शालोमले त्यसलाई भन्थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठीक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैलाई शक्ति दिनुभएको छैन ।4 अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्यो, र म त्यसलाई न्याय दिलाउँथे !5 यसैले यस्तो भयो, जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्यो, तब अब्शालोमले आफ्नो हात काँधमा राख्थे र त्यसलाई अङ्गालो हाल्थे र त्यसलाई चुम्बन गर्थे ।6 राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।7 चार वर्षको अन्ततिर यस्तो भयो कि अब्शालोमले राजालाई भने, “कृपया, मैले हेब्रोनमा परमप्रभुलाई गरेको भाकल पूरा गर्न मलाई जान दिनुहोस् ।8 किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरेँ, ‘परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्नेछु’ ।9 त्यसैले राजाले उनलाई भने, “शान्तिसित जाऊ ।” यसैले अब्शालोम उठे र हेब्रोनमा गए ।10 तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासूसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै, तिमीहरूले यसो भन्नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो’ ।11 अब्शालोमसँगै यरूशलेमका दुई सय जना मानिस गए जसले निमन्त्रणा पाएका थिए । अब्शालोमले योजना गरेका कुनै कुरा पनि थाहा नपाई तिनीहरू आफ्नो अज्ञानतामा गए ।12 अब्शालोमले बलिदान चढाउँदा, उनले गीलोहका अहीतोपेललाई पनि बोलाए । तिनी दाऊदका सल्लाहकार थिए । अब्शालोमको षड्यन्त्र प्रबल थियो, किनकि अब्शालोमको पछि लाग्ने मानिसहरूका सङ्ख्या निरन्तर बढ्दै थियो ।13 दाऊदकहाँ एक जना दूत यसो भन्दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।14 त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्ना सबै सेवकलाई भने, “उठ र हामी भागौँ नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्नेछैनौँ । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्नेछ र त्यसले हामीमाथि विपद् ल्याउनेछ र तरवारले यो सहरलाई आक्रमण गर्नेछ ।15 राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्नुहुन्छ सो गर्न तयार छन् ।16 राजा र तिनका सबै परिवार तिनीसितै बिदा भए, तर दरबारको रेखदेख गर्न दश जना उपपत्नीलाई राजाले छोडिराखे ।17 राजा र तिनीसँग भएका सबै मानिस बाहिर गएपछि, तिनीहरू अन्तिम घरमा रोकिए ।18 तिनका सबै फौज तिनीसँगै हिँडे र सबै करेतीहरू, पेलेथीहरू र गित्तीहरू गरी गातबाट तिनलाई पछ्याउने छ सय जना मानिसहरू तिनको अगिअगि गए ।19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँछौ ? फर्क र राजासँगै बस, किनकि तिमी परदेशी र निर्वासित छौ । तिम्रो आफ्नै ठाउँमा फर्क ।20 किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौँतारिन म किन लगाउँछु र ? म कहाँ जाँदै छु भन्ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफादारीता र विश्वासनीयता तिमीसँगै रहोस् ।21 तर इत्तैले राजालाई जवाफ दिए र भने, “ जस्तो परमप्रभु जीवित हुनुहुन्छ र जस्तो मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मर्न वा बाँच्न जेसुकै परोस् हजूरको दास मेरो मालिक महाराजा जुन ठाउँमा जहाँ जानुहुन्छ त्यहीँ नै जानेछ ।22 त्यसैले दाऊदले इत्तैलाई भने, “अगि बढ, हामीसँगै लाग ।” त्यसैले गित्ती इत्तै राजा, तिनका सबै मानिस र सबै परिवार सँगसँगै हिँडे ।23 राजाले किद्रोनको बेँसी तर्दा देशभरिका सबै मानिस धुरुधुरु रोए र सबै मानिस पनि राजासँगै पारि तरे । सबै मानिस उजाडस्थान जाने बाटोसम्म गए ।24 परमेश्वरको करारको सन्दूक बोक्ने सबै लेवीसहित सादोक पनि थिए । तिनीहरूले परमेश्वरको सन्दूकलाई भुईंमा राखे र त्यसपछि अबियाथार तिनीहरूसँगै सहभागी भए । सबै मानिस सहरबाट बाहिर नआएसम्म तिनीहरूले पर्खे ।25 राजाले सादोकलाई भने, “परमेश्वरको सन्दूकलाई सहरमा नै फर्काएर लैजाऊ । मैले परमप्रभुको दृष्टिमा निगाह पाएँ भने, उहाँले मलाई यहाँ फर्काएर ल्याउनुहुनेछ र सन्दूक र उहाँ बस्नुहुने ठाउँ मलाई फेरि देखाउनुहुनेछ ।26 तर उहाँले यसो भन्नुहुन्छ भने, ‘तँसँग म प्रसन्न छैन’, हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।27 राजाले सादोक पूजाहारीलाई यसो पनि भने, “के तिमी दर्शी होइनौ ? सहरमा शान्तिसँग फर्क र तिम्रा दुई छोरा, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथन तिम्रो साथमा छन् ।28 हेर, मलाई जानकारी दिनलाई तिमीबाट खबर नआएसम्म म अराबाको जँघारहरूमा पर्खिनेछु ।29 त्यसैले सादोक र अबियाथारले परमेश्वरको सन्दूक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीँ बसे ।30 तर दाऊद खाली खुट्टाले हिँडेर रुँदै जैतूनको डाँडाको उकालो चढे र तिनले आफ्नो शिर ढाकेका थिए । तिनीसँग भएका हरेक मानिसले आ-आफ्ना शिर ढाके र तिनीहरू रुँदै माथि उकालो चढे ।31 कसैले दाऊदलाई भन्यो, “अहीतोपेल अब्शालोमसँगै षड्यन्त्र गर्नेहरूसित छ ।” त्यसैले दाऊदले प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी, अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस् ।32 यस्तो भयो, जब दाऊद बाटोको टाकुरामा आइपुगे जहाँ परमेश्वरको आराधना गरिन्थ्यो, तब अरकी हुशै आफ्नो लुगा च्यातेर शिरमा धूलो छरेर दाऊदलाई भेट्न आए, ।33 दाऊदले तिनलाई भने, “तिमी मसँग गयौ भने, तिमी मेरो निम्ति बोझ बन्नेछौ ।34 तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, ‘जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजूरको दास हुनेछु’, तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।35 के तिमीसँग सादोक पूजाहारी र अबियाथार हुनेछैनन् र ? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पूजाहारी सादोक र अबियाथारलाई भन्नुपर्छ ।36 हेर, तिनीहरूका साथमा तिनीहरूका दुई छोरा सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन् । तिमीले सुनेका सबै कुरा तिमीले तिनीहरूको माध्यमद्वारा मकहाँ पठाउनू ।37 त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए ।