5
त्‍यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामी तपाईंकै मासु र हड्‍डी हौँ ।2 केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्‍नुभयो, ‘तैँले नै मेरो इस्राएलको गोठालो गर्नेछस् र तँ नै इस्राएलमाथि शासक हुनेछस्’ ।3 त्‍यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।4 दाऊदले राज्‍य गर्न सुरु गर्दा तिनी तीस वर्षका थिए र तिनले चालीस वर्षसम्म राज्‍य गरे ।5 तिनले हेब्रोनमा सात वर्ष छ महिना राज्‍य गरे र सबै इस्राएल र यहूदामा तेत्तीस वर्ष राज्‍य गरे ।6 राजा र तिनका मानिसहरू त्‍यस ठाउँका बासिन्‍दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए । तिनीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउनुभयो भने, अन्धा र लङ्‌गडाले नै फर्काइदिनेछन् । दाऊद यहाँ आउन सक्दैन ।7 तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।8 त्‍यति नै बेला दाऊदले भने, “यबूसीहरूलाई आक्रमण गर्नेहरू ‘लङ्‌गडा र अन्धा’कहाँ पुग्‍न पानीको नालीबाट जानेछन् जो दाऊदका शत्रुहरू हुन् ।” यसैले मानिसहरूले भन्‍छन्, “ ‘अन्धा र लङ्‌गडाहरू’ दरबारमा प्रवेश गर्नु हुँदैन ।9 त्‍यसैले दाऊद त्‍यो किल्लामा बसे र त्‍यसलाई दाऊदको सहर भनियो । तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्‍दी गरे ।10 दाऊद धेरै शक्तिशाली भए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्यो ।11 त्‍यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए । तिनीहरूले दाऊदको निम्ति महल बनाए ।12 परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्‍यलाई उच्‍च पार्नुभएको थियो ।13 दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्‍मे ।14 यरूशलेममा जन्‍मेका तिनका छोराछोरीका नाउँ यी नै थिएः शम्मूअ, शोबाब, नातान, सोलोमन,15 यिभार, इलीशूअ, नेपेग, यापी,16 एलीशामा, एल्यादा र एलीपेलेत ।17 अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए ।18 पलिश्‍तीहरू आएका थिए र रपाईको बेँसीमा छरिएका थिए ।19 त्‍यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्‍छ ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउनेछु ।20 त्‍यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैँ मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम भयो ।21 पलिश्‍तीहरूले त्‍यहाँ आफ्‍ना मूर्तिहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए ।22 त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए र फेरि एक पटक रपाई बेँसीमा फैलिएर बसे ।23 त्‍यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र परमप्रभुले तिनलाई भन्‍नुभयो, “तैँले तिनीहरूलाई अगाडिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्‌गल भएर तिनीहरूमाथि जाइलाग ।24 जब तैँले लहरे-पिपलको टुप्‍पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस्, तब फौजका साथमा आक्रमण गर् । यसो गर् किनभने तैँले पलिश्‍तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुनेछ ।25 त्‍यसैले परमप्रभुले आज्ञा गर्नुभएझैँ दाऊदले गरे । तिनले पलिश्‍तीहरूलाई गिबोनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे ।