4
जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्‍यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्‍यो ।2 शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहीहरूका समूहहरूका कप्‍तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्‍यामीनको मानिस बेरोती रिम्‍मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्‍यामीनको हिस्‍सा ठानिन्‍छ,3 र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्‍यहीँ बसिरहेका छन् ।)4 शाऊलका छोरा जोनाथनका एक जना छोरा थिए जसको खुट्टो लङ्‌गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्‌गडो भए । तिनको नाउँ मपीबोशेत थियो ।5 त्‍यसैले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्‍बोशेतको घरतिर जान हिँडेर मध्‍यान्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।6 ढोकाको स्‍त्री पाले गहूँ ओसार्दै गर्दा मस्त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिँडे र तिनलाई पार गरेर गए ।7 यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्‍यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिँडे ।8 तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हेर्नुहोस्, यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्‍तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बदला लिनुभएको छ ।9 दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “ जस्‍तो परमप्रभु जीवित हुनुहुन्‍छ, जसले मेरो जीवन हरेक कष्‍टबाट बचाउनुभयो,10 जब कसैले मलाई त्‍यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी ‘हेर्नुहोस्, शाऊल मरेको छ,’ भन्‍यो, मैले त्‍यसलाई समातेँ र सिक्लगमा मारेँ । त्‍यसको खबरको निम्ति मैले त्‍यसलाई त्‍यो इनाम दिएँ ।11 झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्‍यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ ?12 त्‍यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्‌याए । तर तिनीहरूले ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।