6
दाऊदले फेरि पनि इस्राएलका चुनिएका सबै तीस हजार मानिसहरूलाई एकसाथ भेला पारे ।2 दाऊद उठे र यहूदाको बालाबाट परमप्रभुको सन्दूक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशक्तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ ।3 तिनीहरूले परमप्रभुको सन्दूकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्जाह र अहियोले त्यो नयाँ गाडालाई ठेल्दै थिए ।4 तिनीहरूले परमेश्वरको सन्दूकसहितको गाडालाई डाँडामा भएको अबीनादाबको घरबाट बाहिर ल्याए । अहियो सन्दूकको अगिअगि हिँडिरहेका थिए ।5 तब दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सामु काठका साधनहरू, वीणा, सारङ्गी, खैँजडीहरू, मृदङ्ग र झ्यालीहरू बजाउँदै उत्सव मनाउन थाले ।6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्जाहले परमेश्वरको सन्दूक समात्नलाई आफ्नो हात पसारे र तिनले त्यो समाते ।7 त्यसपछि परमप्रभुको रीस उज्जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्जाह त्यहाँ नै परमेश्वरको सन्दूकनेर मरे ।8 दाऊद रिसाए, किनभने परमप्रभुले उज्जाहलाई आक्रमण गर्नुभएको थियो र तिनले त्यस ठाउँलाई फारेस-उज्जाह भने । त्यस ठाउँलाई आज पनि फारेस-उज्जाह नै भनिन्छ ।9 दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दूक मकहाँ कसरी आउन सक्छ ?10 त्यसैले दाऊदले परमप्रभुको सन्दूकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।11 परमप्रभुको सन्दूक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो । त्यसैले परमप्रभुले तिनलाई र तिनका सबै घरानालाई आशिष् दिनुभयो ।12 अब दाऊद राजालाई भनियो, “परमेश्वरको सन्दूकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्वरको सन्दूकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।13 जब परमप्रभुको सन्दूक बोक्नेहरू छ कदम अगि बढ्थे, तब तिनले एउटा साँढे र एउटा पोसेको बाछो बलि चढाउँथे ।14 परमप्रभुको सामु आफ्नो सारा शक्ति लगाएर दाऊद नाचे । तिनले सूतीको एपोद मात्र लगाएका थिए ।15 यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दूक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए ।16 अब जब परमप्रभुको सन्दूक दाऊदको सहरमा आयो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् । परमप्रभुको सामु दाऊद राजा उफ्रँदै र नाँच्दै गरेको तिनले देखिन् । तब आफ्नो हृदयमा तिनले उनलाई घृणा गरिन् ।17 तिनीहरूले परमप्रभुको सन्दूक ल्याए र त्यसको निम्ति दाऊदले तयार पारेका बीचको पालमा त्यसको आफ्नै ठाउँमा त्यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।18 जब दाऊदले होमबलि र मेलबलिहरू चढाएर सिध्याए, तिनले मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुको नाउँमा आशिष् दिए ।19 त्यसपछि तिनले सबै मानिसका माझमा, सम्पूर्ण इस्राएलको भीडलाई पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडिदिए । अनि सबै मानिस बिदा भए । प्रत्येक व्यक्ति उसको आफ्नै घरमा फर्कियो ।20 त्यसपछि दाऊद आफ्नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठूलो इज्जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्ज रूपमा आफूलाई निर्वस्त्र पार्ने कुपात्रले झैँ आफैलाई निर्वस्त्र तुल्याए ।21 दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरेँ, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्नुभयो । परमप्रभुको सामु म आनन्दित हुनेछु ।22 म यो भन्दा अझ धेरै अप्रतिष्ठित हुनेछु र म मेरै आँखामा अपमानिस हुनेछु । तर तिमीले भनेकी यी सेविकाहरूद्वारा नै मेरो इज्जत गरिनेछ ।23 त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन ।