29
अब पलिश्‍तीहरूले आफ्‍ना सारा फौजलाई अपेकमा एकसाथ भेला पारे । इस्राएलीहरूले यिजरेलको पानीको मूलनेर छाउनी हाले ।2 पलिश्‍तीहरूका शासकहरू सय र हजारको पङ्‌क्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्‍गरक्षकहरू थिए ।3 तब पलिश्तीहरूका शासकहरूले भने, “यी हिब्रूहरूले यहाँ के गरिरहेका छन् ?” आकीशले पलिश्तीहरूका अरू शासकहरूलाई भने, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद होइन् जो मकहाँ आएको दिनदेखि आजसम्म मैले कुनै दोष भेट्टाएको छैन जो यी दिनहरू वा वर्षहरूमा मसँग बसेका छन् ?4 तर पलिश्‍तीहरूका शासकहरू तिनीसँग रिसाए र भने, “उसलाई फिर्ता पठाउनुहोस्, ताकि उसलाई दिइएको ठाउँमा ऊ फर्कोस् । ऊ हामीसँग युद्धमा जानेछैन, किनकि ऊ युद्धको समयमा हाम्रै विरुद्धमा जाइलाग्‍नेछ, किनकि उसले हाम्रा मानिसहरूको शिर काट्नु भन्‍दा अरू कसरी आफ्नो मालिकप्रति आफूलाई स्वीकारयोग्य बनाउन सक्‍छ र ?5 के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपसमा नाच्दै गाएका थिए, ‘शाऊलले हजारौँलाई मारे र दाऊदले दशौँ हजारलाई मारे’ ?6 त्‍यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, “ जस्‍तो परमप्रभु जीवित हुनुहुन्‍छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्‍टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् ।7 त्‍यसैले अब फर्क र शान्‍तिसँग जाऊ, ताकि तिमीले पलिश्‍ती शासकहरूलाई अप्रसन्‍न तुल्याउनेछैनौ ।8 दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु ? म तपाईंको सामुन्‍ने आजको दिनसम्म बस्‍दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्‍दिन ?9 आकीशले दाऊदलाई जवाफ दिए र भने, “तिमी मेरो दृष्‍टिमा परमेश्‍वरको दूत जत्तिकै दोषरहित छौ । तापनि पलिश्‍ती शासकहरूले भनेका छन्, ‘यिनी हामीसँग युद्धमा जानुहुँदैन ।’10 त्‍यसैले तिमीसँग आएका आफ्नो मालिकका सेवकहरूसँगै बिहान सबेरै उठ । बिहान जति सक्‍दो सबेरै र उज्‍यालो हुनुअघि नै गइहाल ।11 त्‍यसैले दाऊद बिहान सबेरै उठे, तिनी र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्कन बिहान सबेरै हिँडे । तर पलिश्तीहरू माथि यिजरेलतिर गए ।