21
पूजाहारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्लै हुनुहुन्छ र तपाईंसँग कोही पनि छैनन् ?2 दाऊदले पूजाहारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्तो हुकुम गर्नुभएको छ, ‘जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्यसको बारेमा कसैलाई थाहा नहोस् ।’ कुनै निश्चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु ।3 अहिले तपाईंसँग के छ ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस् ।4 पूजाहारीले दाऊदलाई जवाफ दिए र भने, “मसँग कुनै साधारण रोटी त छैन, तर ती जवान मानिहरू स्त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी छ ।5 दाऊदले पूजाहारीलाई जवाफ दिए, “सदाझैँ बाहिर म जाँदा हामीबाट तीन दिनदेखि स्त्रीहरू अलग गरिएका छन् । साधारण काममा जाँदा समेत मानिससित सम्बन्धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन् । तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन् ।6 त्यसैले पूजाहारीले तिनलाई चढाइएको रोटी दिए । किनकि त्यहाँ उपस्थितिको रोटीबाहेक अरू कुनै रोटी थिएन, जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्यसको सट्टामा तातो रोटी राखिएको थियो ।7 त्यस दिन शाऊलका सेवकहरूमध्ये एक जना परमप्रभुको सामु रोकिएको थियो । त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो ।8 दाऊदले अहीमेलेकलाई भने, “के यहाँ कुनै भाला वा तरवार छैन ? किनकि मैले न त मेरो तरवार न हतियार नै ल्याएँ, किनभने राजाको काम जरूरी थियो ।9 पूजाहारीले भने, “तपाईंले एलाहको बेँसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्यो लाने इच्छा हुन्छ भने त्यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्तो अरू कुनै तरवार छैन । त्यो मलाई दिनुहोस् ।10 त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।11 आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन् ? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, ‘शाऊलले हजारौँलाई मारेका छन्, र दाऊदले दशौँ हजारलाई मारेका छन् ?’ ।12 दाऊदले यस कुरालाई मनमा लिए र गातका राजा आकीशसँग धेरै डराए ।13 उनीहरूको सामु तिनले आफ्नो व्यवहार बदले र तिनीहरूकहाँ पागल भएको बहाना गरे । तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्नो र्याल दाह्रीभरि चुहाए ।14 तब आकीशले आफ्ना सेवकहरूलाई भने, “हेर, यो मानिस पागल भएको तिमीहरू देख्दै छौ । यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ ?15 के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्यस्तै व्यवहार गर्नलाई ल्याएका हौ ? के यो मानिस साँच्चै नै मेरो घरमा आउनेछ ?”