13
शाऊलले राज्‍य गर्न सुरु गर्दा तिनी तीस वर्षका थिए । तिनले इस्रालमाथि चालीस वर्ष राज्‍य गरेका थिए,2 तिनले इस्राएलका तीन हजार जना मानिसहरूलाई चुने । दुई हजार जना मानिसहरू तिनीसँगै मिकमाशमा र बेथेलको पहाडी देशमा थिए, जबकि एक हजार जना मानिसहरू बेन्‍यामीनको गिबामा जोनाथनसँग थिए । सिपाहीहरूमध्‍ये बाँकीलाई तिनले आ-आफ्नो घरमा पठाए ।3 जोनाथनले गिबामा भएको पलिश्‍तीहरूका चौकीलाई पराजित गरे र पलिश्तीहरूले यो सुने । तब शाऊलले “हिब्रूहरूले सुनून्” भन्‍दै देशभरि तुरही फुके ।4 शाऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्‍ने सबै इस्राएलले सुने । तब गिलगालमा शाऊलकहाँ आउन सबै सिपाहीरूलाई बोलाइयो ।5 पलिश्तीहरू तीन हजार रथहरू, छ हजार रथ हाँक्‍नेहरू र समुद्र किनारको बालुवा सरी असंख्य सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए । तिनीहरू माथि आए र बेथ-आवनको पूर्वमा मिकमाशमा छाउनी हाले ।6 जब इस्राएलका मानिसहरूले आफूहरू कष्‍टमा परेको देखे, किनभने मानिसहरू व्याकुल थिए, मानिसहरू ओढारहरूतिर, झाडीहरूभित्र, चट्टानहरूमा, इनारहरूमा र खाल्डोहरूमा लुके ।7 केही हिब्रूहरू यर्दन पारि गाद र गिलादको भूभागतिर गए । तर शाऊल अझ पनि गिलगालमा नै थिए र सबै मानिसहरू डरले काम्दै तिनको पछि लागे ।8 तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे । तर शमूएल गिलगालमा आएनन् र मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए ।9 शाऊलले भने, “मलाई होमबलि र मेलबलि ल्याओ ।” अनि तिनले होमबलि चढाए ।10 तिनले होमबलि चढाउन सिध्‍याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।11 त्‍यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको ?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखेँ र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,12 मैले भने, ‘अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।’ त्‍यसैले होमबलि चढाउन मैले आफैलाई दबाब दिएँ ।13 तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुने थियो ।14 तर अब तपाईंको शासनले निरन्‍तरता पाउनेछैन । परमप्रभुले आफ्‍नो जस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।15 तब शमूएल उठे र गिलगालबाट बेन्‍यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्‍ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।16 शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्‍यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।17 पलिश्तीहरूका छाउनीबाट लुट्ने तीन समूह आए । एउटा समूह शूआलको भूमि ओप्रातिर लागे ।18 अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्‍थानतिर सबोईंको बेँसी देखिने सिमानातिर लागे ।19 इस्राएलभरि कुनै फलामको काम गर्ने मानिसहरू भेट्टाउन सकिँदैनथ्यो, किनभने पलिश्तीहरूले भने, “नत्रता हिब्रूहरूले आफ्‍ना निम्‍ति भालाहरू र तरवारहरू बनाउँछन् ।20 तर इस्राएलका सबै मानिसहरू आ-आफ्‍ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्‍न तल पलिश्‍तीहरूकहाँ जाने गर्थे ।21 फाली र कोदालो अर्जाप्‍नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्‍नको र फाली अडाउने करुवा सोझ्याउन एक तिहाइ शेकेल ज्‍याला थियो ।22 त्‍यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहीरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।23 पलिश्तीहरूको फौज मिकमाशको घाटीमा गयो ।