12
एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो । तिनीहरू सापोनको बाटो गए र यिप्‍तालाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्न तिमी किन गयौ र तिमीसँगै जान हामीलाई तिमीले किन बोलाएनौ ? हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौँ ।2 यिप्‍ताले तिनीहरूलाई भने, “म र मेरा मानिसहरू अम्मोनका मानिहरूसँग ठूलो झगडामा थियौँ । जब मैले तिमीहरूलाई बोलाएँ, तिमीहरूले मलाई तिनीहरूबाट बचाएनौ ।3 तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखेँ, तब मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखेँ र अम्मोनका मानिसहरूका विरुद्धमा गएँ, र परमप्रभुले मलाई विजय दिनुभयो । तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ ?4 यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गराए र एफ्राइमको विरुद्ध युद्ध लडे । गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने, “तिमीहरू, गिलादीहरू एफ्राइम - एफ्राइम र मनश्शेमाबाट भागेर गएकाहरू हौ ।5 गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे । जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्”, गिलादका मानिसहरूले त्‍यसलाई यस्तो भन्‍थे, “के तँ एफ्राइमी होस् ?” त्‍यसले “होइन” भन्‍यो भने,6 तिनीहरूले त्‍यसलाई भन्‍थे, “शिब्बोलेत भन्,” र उसले “सिब्बोलेत” भन्‍यो भने (किनकि उसले त्‍यो शब्द सही उच्‍चारण गर्न सक्दैनथ्यो), तब गिलादीहरूले त्‍यसलाई समाउँथे र उसलाई यर्दनको जँघारहरूमा मार्थे । त्‍यस बेला एफ्राइमका बयालीस हजार जना मारिए ।7 यिप्‍ताले इस्राएलका न्‍यायकर्ता भएर छ वर्षसम्‍म सेवा गरे । तब गिलादी यिप्‍ता मरे र गिलादका सहरहरूमध्‍ये एउटा सहरमा दफन गरियो ।8 तिनीपछि, बेथलेहेमका इब्सानले इस्राएलमा न्‍यायकर्ताका रूपमा सेवा गरे ।9 तिनका तीस जना छोरा थिए । तिनले आफ्ना तीस जना छोरीहरूका विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति बाहिरबाट अरू मानिसहरूका तीस जना छोरीहरू ल्याए । उनले सात वर्षसम्‍म इस्राएलको न्‍याय गरे ।10 इब्सान मरे र तिनलाई बेथलेहेममा दफन गरियो ।11 तिनीपछि जबूलूनी एलोनले इस्राएलमा न्‍यायकर्ताका रूपमा सेवा गरे । उनले दश वर्षसम्‍म इस्राएलको न्‍याय गरे ।12 जबूलूनी एलोन मरे र उनलाई जबूलून देशको अय्यालोनमा दफन गरियो ।13 तिनीपछि, पिरातोनी हिल्लेलका छोरा अब्दोनले इस्राएलमा न्‍यायकर्ताका रूपमा सेवा गरे ।14 उनका चालीस छोरा र तीस नातिहरू थिए । तिनीहरू सत्तरी वटा गधाहरूमा सवार हुन्‍थे, र तिनले इस्राएलमा आठ वर्षसम्‍म न्‍याय गरे ।15 पिरातोनी हिल्लेलका छोरा अब्दोन मरे र तिनलाई अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोन इलाकामा दफन गरियो ।