4
एहूद मरेपछि, परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, इस्राएलका मानिसहरूले फेरि त्‍यही गरे ।2 परमप्रभुले तिनीहरूलाई कनानका राजा याबीनको हातमा बेचिदिनुभयो जसले हासोरमा राज्‍य गर्थे । तिनको सेनाका कमाण्‍डरको नाउँ सीसरा थियो, र उनी हरोशेत हग्गोयिममा बस्थे ।3 इस्राएलका मानिसहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे, किनभने सीसरासँग नौ सय फलामका रथहरू थिए र तिनले इस्राएलका मानिसलाई बीस वर्षसम्म बलपूर्वक अत्‍याचार गरे ।4 त्‍यस समय इस्राएलमा एक अगमवादिनी, दबोरा (लप्‍पीदोतकी पत्‍नी) नेतृत्‍व गर्ने न्‍यायकर्ता थिइन् ।5 तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बीचमा दबोराको खजुरको रूखमुनि बस्‍ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे ।6 तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्‍वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्‍छ, ‘तबोर डाँडामा जाऊ, र नप्‍ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्‍याऊ ।7 याबीनका सेनाका कमाण्‍डर सीसरालाई त्‍यसका रथहरू र त्‍यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई म ल्याउनेछु, र तिमीलाई म त्‍यसमाथि विजयी बनाउनेछु’ ।8 बाराकले तिनलाई भने, “तपाईं मसँग जानुभयो भने म जान्‍छु, तर तपाईं मसँग जानुभएन भने म जान्‍नँ ।9 तिनले भनिन्, “निश्‍चित रूपमा म तिमीसँग जानेछु । तर जुन बाटो तिमी जाँदै छौ त्‍यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा बेचिदिनुहुनेछ ।” त्‍यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन् ।10 बाराकले जबूलून र नप्‍तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए । दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन् ।11 यति बेला केनीहरू, अर्थात् होबाबका (मोशाका ससुराका) सन्‍तानबाट हेबेरले (केनीले) आफूलाई अलग्‍याएका, र आफ्नो पाललाई केदेश नजिकैको सानान्‍नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए ।12 अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्‍ने कुरा जब तिनीहरूले सीसरालाई भने,13 तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए ।14 दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र ?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए ।15 सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो । अनि सीसरा आफ्नो रथबाट तल झरे र पैदल नै भागे ।16 तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्‍पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन ।17 तर सीसरा केनी हेबेरकी पत्‍नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बीचमा मिलाप थियो ।18 याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस् ।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन् ।19 उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन् ।20 उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्‍यो भने, ‘छैन’ भन्‍नू ।21 त्‍यसपछि याएल (हेबेरकी पत्‍नी) पालको एउटा कीला र मुङ्‌ग्रो आफ्‍नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्‍यो पालको कीलालाई भुइँमा नछेडिँदासम्म तिनले ठोकिदिइन् र उनी मरे ।22 बाराकले सीसरालाई खोज्दै गर्दा, याएल उनलाई भेट्न बाहिर गइन् र तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोजिरहनुभएको मानिस म तपाईंलाई देखाउनेछु ।” यसैले उनी तिनीसँग भित्र गए, र सीसराको कन्चटमा पालको कीला गाडिएर ऊ त्‍यहाँ मरेर ढलेको थियो ।23 यसरी त्‍यस दिन परमेश्‍वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो ।24 इस्राएलका मानिसहरूले कनानका राजा याबीनलाई नष्‍ट नगरेसम्म उनको विरुद्ध तिनीहरूको सामर्थ्य बढ्दै गयो ।