20
त्‍यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो,2 “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘मैले मोशाद्वारा तिमीहरूलाई भने जस्‍तै शरण-नगरहरू चुन ।3 यसो गर ताकि जसले मानिसलाई अनजानमा मार्छ त्‍यो व्यक्ति त्‍यहाँ जान सक्छ । यी सहरहरू मारिएको व्य‍क्‍तिको रगतको बदला लिन खोज्‍नेबाट शरण-स्थान हुनेछ ।4 त्‍यो ती सहरहरूमध्‍ये एउटामा भागेर जानेछ, सहरको प्रवेशद्वारमा खडा हुनेछ र त्‍यस सहरका धर्म-गुरुहरूलाई त्‍यसका सबै कुरा बताउनेछ । त्‍यसपछि तिनीहरूले त्‍यसलाई सहरभित्र लानेछन् र त्‍यसलाई तिनीहरूमाझ बस्‍नलाई ठाउँ दिनेछन् ।5 यदि कोही मारिएको व्यक्तिको बदला लिन आउँछ भने, त्‍यस सहरका मानिसहरूले मार्ने व्यक्तिलाई अधिकारीहरूको हातमा सुम्‍पनुहुँदैन । तिनीहरूले यसो गर्नु हुँदैन, किनभने त्‍यसले आफ्नो छिमेकीलाई अनजानमा मार्‍यो, र विगतमा तिनको उनीसँग कुनै दुश्मनी थिएन ।6 सहरमा न्‍यायको सभाको सामु खडा नभएसम्म ती दिनमा प्रधान पूजाहारीको सेवा गरिरहेका व्यक्तिको मृत्‍यु नभएसम्म त्‍यो व्यक्ति त्‍यस सहरमा रहनुपर्छ । त्‍यसपछि दुर्घटनावश मानिसलाई मार्ने व्यक्ति आफ्नो घर र आफ्नो सहरमा फर्कन सक्छ, जहाँबाट त्‍यो भागेको थियो’ ।7 त्‍यसैले इस्राएलीहरूले नप्‍तालीको पहाडी देशमा गालीलको केदेश, एफ्राइमको पहाडी देशमा शकेम, र यहूदाको पहाडी देशमा किर्यत-अर्बा (जुन हेब्रोन हो) छाने ।8 यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्‍च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने ।9 इस्राएलका मानिसहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूका निम्ति चुनेका सहरहरू यी नै हुन्, ताकि अनजानमा मानिसलाई मार्ने व्यक्ति सुरक्षाको निम्ति त्‍यहाँ भागोस् । यो व्यक्ति सभाको सामु पहिले न्‍यायको निम्ति खडा नभई त्‍यो व्यक्ति बगाइएको रगतको बदला लिन चाहनेको हातबाट नमरोस् ।